बुटवल, १० भदौ
सरकारले गौतम वुद्धको जन्मभूमि लुम्बिनीवरपरका क्षेत्रमा कार्बन उत्सर्जन नगर्ने उद्योग स्थापना गर्न दिनेभएको छ ।
सरकारको मातहतमा रहेको औद्योगिक प्रवर्द्धन बोर्डले गत मंसिरमा आफैँले गरेको निर्णय उल्ट््याउँदै कार्बन उत्सर्जन नगर्ने खालका घरेलु, पर्यटनलगायत उद्योग खोल्न दिने जनाएको हो ।
सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको विकास तथा संरक्षणका लागि भन्दै केही महिना अगाडि लुम्बिनी क्षेत्र संरक्षणका लागि निर्मित बाउन्ड्रीको दक्षिणतर्फ भारतीय सीमासम्म र पूर्व, पश्चिम तथा उत्तरतर्फ बाउन्ड्रीदेखि १५ किलोमिटर दूरीभित्र कुनै पनि उद्योग स्थापना गर्न नपाइने निर्णय गरेको थियो । तर, केही दिन अगाडि गरेको निर्णयअनुसार कार्बन उत्सर्जन नगर्ने साना तथा घरलु उद्योग स्थापना गर्न दिने उल्लेख छ ।
सरकारको निर्णय अपूर्ण भएको ठहरसहित उद्योगी व्यवसायीले विवाद गरेपछि सरकार बाध्य भएर दीर्घकालीन निर्णय अगाडि सारेको बताइएको छ । बोर्डले गरेको निर्णयअनुसार लुम्बिनी क्षेत्रमा उद्योग स्थापनाको क्रम भने फेरि बढ्ने देखिएको छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा प्रदूषण बढाउने ठूला प्रकृतिका उद्योग स्थापना गर्दा लुम्बिनीको अस्तित्व संकटमा परेको भन्दै जनगुनासो आइरहेका वेला सरकारले उद्योग स्थापनाका लागि नयाँ रणनीति ल्याएको हो । त्यसमा कार्बन उत्सर्जन गर्ने र प्रदूषण फैलाउने खालका उद्योग स्थापनालाई भने पूर्ण रूपमा प्रतिबन्ध लगाइएको साना तथा घरेलु उद्योग कार्यालय रूपन्देहीका प्रमुख ताराप्रसाद भट्टराईले जानकारी दिए । ।































