भिडियोकल प्रविधिको थ्रीजी मोबाइलप्रति युवाको आकर्षण
(२०६७ श्रावण १४, शुक्रवार)
-शर्मिला ठकुरी/काठमाडौ
फोन गर्दा आवाजसँगै अनुहार हेरेर कुरा गर्न सकिने भिडियोकल प्रविधि जडान गरिएका कारण मोबाइल फोन प्रयोगकर्तामध्ये विशेषगरी युवावर्गको रुची थ्रीजी (तेस्रो पुस्ता) मोबाइलतर्फ तानिएको छ । गत फागुनदेखि नेपाल टेलिकमले यस प्रकारको मोबाइल सेवा वितरण सुरु गरेपछि धेरैजसो युवाको ध्यान त्यतातिर सोझिएको हो ।
दोस्रो पुस्ता (टुजी) मोबाइल फोनको नम्बरलाई नै थ्रीजी फोनको सेवामा उपयोग गर्न पाउने व्यवस्था नयाँ मोबाइलमा गरिएको छ । साथै उच्च गतिको डाटा डाउनलोडको सुविधा भएकाले पनि यसका ग्राहक बढेको नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले गत आर्थिक वर्ष २०६६/६७ मा उपत्यकामा एकलाख थि्रजी मोबाइल वितरण गर्ने लक्ष्य लिएको थियो ।
थि्रजीको नयाँ सिमकार्ड भन्दा टुजीमा प्रयोग गरिएका पोस्टपेड सीम थि्रजीका लागि हुनेगरी रूपान्तरणको माग धेरै भएको टेलिकमले जनाएको छ ।
लक्ष्य एकलाख पुर्याउने राखिए पनि नयाँ थि्रजीका सिमकार्ड भने यसै आर्थिक वर्षमा एक हजार पाँचसय मात्र बाँडिएको छ भने अन्य पुराना ग्राहक नै थि्रजीका उपभोक्ता भएका छन् ।
टेलिकमका करिब ४२ हजार जीएस्एम मोबाइलमध्ये राजधानीमा मात्रै करिब ७५ हजारले पोस्टपेड मोबाइलको प्रयोग गरिरहेका छन् ।
पुरानै नम्बरमा नयाँसेवा भिडियोकल, मल्टिमिडिया म्यासेजजस्ता आकर्षणले हिजोआज अधिकांश ग्राहकले थि्रजी सेवा रोज्न थालेका हुन् । तर, भिडियोकल नै प्रमुख आकर्षण बनेको उपभोक्ताहरू बताउँछन् । करिब एक महिना अघिमात्र टुजी पोस्टपेडको नम्बरमा थि्रजी सेवामा रूपान्तरित गरेका कोटेश्वरका प्रकाश कोइरालाले आफ्नो साथी विदेश गएको र उसको अनुहार हेरेर कुरा गर्ने धोको भएको कारण यो सेवा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘फोनमा कुरा गर्दा साथीहरू कस्ता भएका छन् भन्ने कुराको जानकारी लिनका लागि पनि सो सेवा लिएको हो ।’
उहाँ काठमाडौँको वानेश्वरमा लेखा परीक्षकको काम गर्नुहुन्छ । टुजी पि्रपेड मोबाइलको प्रयोग गरिरहेको नम्बरमा भने थि्रजी सेवा लिन नमिल्ने टेलिकमका प्रवक्ता सुरेन्द्र थिकेको भनाइ छ ।
उहाँ भन्नुहुन्छ- ‘थि्रजीको सेवा लिने पि्रपेडका ग्राहकको लागि नयाँ प्रक्रियामा जान पर्ने हुन्छ । नेपालमा थि्रजी सेवा तीन वर्षअघिदेखि नै सुरु भए पनि गत आर्थिक वर्षको फागुनदेखि व्यावसायिक उद्देश्यले सहजरूपमा वितरण गर्न सुरु गरिएको छ ।’
जीएस्एम प्रविधिको यो सेवा विशेष गरी भिडियोकल हाइस्पिड डाटा डाउनलोड मल्टिमिडिया एमएमएस टेलिभिजन र इन्टरनेट प्रयोगकर्ताका लागि उपयुक्त मानिन्छ ।
नेपालमा त्यस्तो सेवा प्रयोग गर्ने टेलिकमले पि्रपेड थि्रजीका लागि रु. दुई हजार ५०० शुल्क कायम गरी दुई हजार रुपैयाँ बराबरको कुरा गर्न दिएको थिकेले बताउनुभयो ।
त्यसैगरी पोस्टपेड मोबाइल सेवाका लागि सुरुमा तीन हजार रुपैयाँ धरौटी राखी एक हजार १३० रुपैयाँ स्वामित्व शुल्क, ५६५ रुपैयाँ क्रियाशील शुल्क तोकिएको पनि टेलिकमले जनाएको छ ।
थ्रीजी प्रीपेडअन्तर्गत भिडियोकलका लागि प्रतिमिनेट रु ५ र पोस्टपेडमा प्रतिकल रु ४ कायम गरिएको छ । टेलिकमले थि्रजी पि्रपेडको प्रति एसएमएस् शुल्क रु ३ र पोस्टपेडको दुई रुपैयाँ ५० पैसा तोकेको छ । त्यस्तै डाटाकल, भिडियोकल स्टि्रमिङ शुल्क दुई किलोबाइट बराबर एक पैसा तोकिएको छ । उपत्यकामा एकलाख थि्रजीको लागि ६२ वटा टावर जडान भइसकेका छन् ।
|