प्रधानमन्त्रीको चुनावमा भोट हाल्न मधेसी मोर्चाले अघि सारेको शर्तका तीन मुख्य बुँदाप्रति माओवादी असहमति
(२०६७ श्रावण १४, शुक्रवार)
प्रधानमन्त्रीको चुनावमा भोट हाल्न तराईका पार्टीहरुको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेको शर्तका तीन मुख्य बुँदाप्रति एकीकृत नेकपा माओवादीले असहमति जनाएको छ।
मोर्चालाई फकाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिताउने प्रयासमा लागेको माओवादी पार्टीको पदाधिकारीहरुको बैठकले त्यस्तो निष्कर्ष निकालेको हो।
उसले आत्मनिर्णयको अधिकार सहित स्वायत्त मधेस प्रदेशको स्थापना गर्ने बुँदा स्वीकार्न नसकिने जनाएको छ।
माओवादी सचिव सीपी गजुरेलले भने, “पूर्वदेखि पश्चिमसम्मको पुरै तराईलाई मधेस प्रदेश मान्न हामी तयार छैनौँ।”
उक्त विषयमा कांग्रेसको धारणा पनि त्यस्तै छ।
तर उसले स्वीकार नगरेको संघीय प्रदेशलाई आत्मनिर्णयको अधिकार दिन माओवादी राजी छ।
‘मान्दैनौँ’
मोर्चा र कांग्रेस संविधानमा बहुलवाद शब्द राख्न सहमत छन्।
नेता गजुरेल भन्छन्, “तर हामी त्यसबारे वहस होस भन्ने पक्षमा छौँ।”
नेपाली सेनामा समायोजन गरिने माओवादी लडाकूको संख्या तोक्न मोर्चा र कांग्रेस एक-मन छन्।
माओवादी भने पुरै नाकारात्मक छ।
नेता सीपी गजुरेलका अनुसार त्यो कुरा माओवादीले कुनै हालतमा पनि मान्ने छैन।
उ लडाकूहरुलाई सोधेर समायोजनको संख्या तोक्नु पर्ने पक्षमा छ।
अवसर
नेपाली सेनामा मधेसी समुदायको समूहगत प्रवेश सम्बन्धी मोर्चाको शर्तमा कांग्रेस जति माओवादी नकारात्मक देखिएको छैन।
सचिव गजुरेलका अनुसार उक्त बुँदाको आशयप्रति उनको पार्टी थप स्पष्ट हुन चाहन्छ।
मोर्चामा रहेका केही पार्टीले साथ दिएमा माओवादीले प्रधानमन्त्रीको चुनाव जित्ने सम्भावना छ।
एमाले तटस्थ रहँदासम्म भने कांग्रेसको निम्ति त्यो अवसरको ढोका बन्द रहि नै रहनेछ।
तर मोर्चा फेरि पनि तटस्थ बस्यो भने साउन १७ गतेको हुने चुनाव पनि प्रधानमन्त्री छान्न विफल हुनेछ। |