माओवादी कार्यकर्ताहरुले धनकुटा नगरपालिकाका कार्यकारी अधिकृतलाई कार्यकक्षमा दुर्व्यवहार
(२०६७ आषाढ ३१, विहीवार)
धनकुटा, अषाढ ३० - मातृका समुहको पुनर्गठित माओवादी पार्टीका कार्यकर्ताहरुले बुधबार धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्रकुमार खाम्याहाङ्लाई कार्यकक्षमा दुर्व्यवहार गरेका छन्।
पार्टीका दिनेश मगरको नेतृत्वमा गएको समुहले आर्थिक वर्ष०६७/०६८ को कार्यक्रम तथा बजेट सार्वजनिक गर्न तयारी गर्दै गरेको अवस्थामा मोबिल छ्याप्ने प्रयास गरेका थिए । प्लाष्टिकमा राखिएको मोबिल अन्य कर्मचारी र कार्यालयको भित्तामा लागेको छ ।
घटनाको जिम्मा लिंदै सो पार्टिका पुर्वी पहाडी व्रिगेड इन्चार्ज नारायण तिवारी संयोगले भ्रष्टाचार उपर सम्बन्धित पक्षको ध्यान नगए हदैसम्मको निर्मम जनकारवाही गर्ने चेतावनी दिएका छन् । उनले सञ्चारकर्मीलाई मोबाइलबाट सम्पर्क गरी विकृतिको अन्त्यका लागि आफ्नो पार्टिले कारवाही जारी राख्ने बताए ।
कार्यकारी अधिकृत खाम्याहाङ्ले नगरपालिकाको रकम अनियमितता गरेको भन्दै कारवाही गरिएको माओवादीले विज्ञप्तिमा जनाएको छ । विभिन्न विकास निर्माणका कार्यमा विभिन्न समुहसंग मिलेर भ्रष्टाचार गरेको आरोप लगाईएको छ ।
यसैबीच जिल्लास्थित सर्वदलीय संयन्त्रले बुधबार साँझ विज्ञप्ती जारी गर्दै सो घटनाको निन्दा र भर्त्सना गरेका छन् । विभिन्न १० राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिले सामुहीक विज्ञप्ती जारी गर्दै घटना खेदजनक भएको जनाउदै यस्ता क्रियाकलाप कुनै पनि पक्षबाट गरिनु आमजनताको भावना विपरित भएको प्रतिक्रिया जनाएका छन् । |