हनिमुन मनाउने बहानामा पोखरा ल्याएर नवविवाहित श्रीमतीको हत्या गर्नेलाई कर्तव्य ज्यान मुद्दा
(२०६७ श्रावण ६, विहीवार)
मनोज अधिकारी, नागरिक
पोखरा, साउन ६- हनिमुन मनाउने बहानामा पोखरा ल्याएर नवविवाहित श्रीमतीको हत्या गर्ने काठमाडौं काभ्रेस्थलीका सरोज फुयाँलसँगै उनकी प्रेमिका कोपिलालाई प्रहरीले बिहीबार पोखरामा सार्वजनिक गरेको छ।
 जिल्ला प्रहरी कार्यालयले श्रीमतीको हत्या गर्ने १९ वर्षीय सरोज र त्यसको योजना बनाउने प्रेमिका १७ वर्षिया कोपिला फुयाँललाई सञ्चारकर्मीमाझ सार्वजनिक गरेको हो। गत आइतबार हनिमुनका लागि भनेर पोखरा आएकै रात होटल मदरल्याण्डमा श्रीमती अन्जुको हत्या गरी भोलिपल्ट काठमाडौ पुगेका सरोजलाई पक्राउ गरि प्रहरीले अनुसन्धानका लागि मङ्गलबार पोखरा ल्याएको हो।
प्रेमिकाको उक्साहटमा श्रीमतीको हत्या गर्ने सरोज र प्रेमिका कोपिलाविरुद्व प्रहरीले बुधबार कर्तव्य ज्यान मुद्दा चलाएको छ। बिहीबार उनीहरुको प्रारम्भिक बयान लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बुधबार ७ दिनको म्याद थप गराएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।
मागी परम्पराअनुसार असार १० गते बिहा गरेका सरोजले आफ्नी प्रेमिकालाई खुशी पार्न साउन २ गते घर तथा माइती पक्षलाई थाहै नदिई श्रीमतीलाई पोखरा ल्याएर हत्या गरेका प्रहरीले बताएको छ।
हत्यालगत्तै श्रीमती अपहरणमा परेको नाटक रच्दै काठमाडौं पुगेका उनलाई प्रहरीले साउन ३ गते साँझ र उनकै बयानका आधारमा प्रेमिका फुयाँललाई राति पक्राउ गरेको थियो। राजीखुशीले विवाह गरेका ज्वाइँले नै छोरीको हत्या गरेपछि मर्माहत बनेका अन्जुका बाबु नवराज फुयाँलले घटना भएको दुई दिनपछि गत मङ्गलबार जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका छन्।
घटना भएको सम्बन्धित जिल्लामा अनुसन्धान गर्नुपर्ने भएकाले अभियुक्त दुवैलाई मङ्गलबार पोखरा ल्याइएको हो। साउने पानी छल्न माइत गएकी श्रीमतीलाई सपिङ जाउँ भन्दै पोखरा ल्याएका सरोजले राति विषादिसमेत मिसाएर बियर खुवाएपछि घाँटी थिचेर हत्या गरेका प्रहरीले बताउँदै आएको छ। |