बागलुङमा पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु
(२०६७ आषाढ ३२, शुक्रवार)
बाग्लुङ, अषाढ ३२ - बिहीबार राती बागलुङको देविस्थान गाविस ७ को व्यङग्रीको भीरमा गएको पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । घटनामा चारजना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था चिन्ताजनक रहेको छ ।
भिमबहादुर विकको घर पहिरोले पुर्दा १३ बर्षकी छोरी शान्ति, ६ बर्षको छोरा कृष्ण विक र १२ बर्षको छोरा शिवको मृत्यु भएको हो । घाइते हुनेमा २५ बर्षकी छोरी भुमी, ३ बर्षकी नातिनी शुशिला, २२ बर्षकी बुहारी मनिषा र घरमुली भीमबहादुर घाइते भएका हुन् । घर बाहिर गएका छोरा कुवेर भने सकुसल रहेको प्रहरीले बतायो ।
घाइते लाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिवाङ, प्रहरी चौकी बोहरागाउँका प्रहरी जवानहरु र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । पहिरोले घर पूर्ण रुपमा नष्ट भएको छ । |