मधेसी जनअधिकार फोरमव्दारा पहिले एमालेसँग स्पष्ट हुन कङ्ग्रेसलाई सल्लाह
(२०६७ श्रावण १२, बुधवार)
काठमाडौँ - सरकार बनाउने कसरतमा रहेको नेपाली कङ्ग्रेसलाई मधेसी जनअधिकार फोरमले आफ्नो मोर्चाको अवधारणापत्रमा लिखित जवाफ दिन र पहिले नेकपा (एमाले) सँग स्पष्ट हुन सल्लाह दिएको छ। मधेसी जनअधिकार फोरमको संसदीय दलको कार्यालयमा कङ्ग्रेसका नेताहरुले गरेको वार्तामा फोरमका नेताले यस्तो आग्रह गरेका हुन्।
“मोर्चाको अवधारणाबारे लिखित जवाफ दिन र एमालेको धारणाबारे छिटो स्पष्ट हुन फोरमका नेताहरुले आग्रह गर्नुभयो,” वार्तापछि नेपाली कङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले भने।
छलफलमा कङ्ग्रेसका तर्फबाट कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता एवम् प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल र प्रवक्ता केसी सहभागी थिए। छलफलबाट आफूहरु उत्साही भएको कङ्ग्रेसले जनाएको छ।
मोर्चाले राखेको अवधारणाका धेरै कुरा सकारात्मक रहेको र कतिपय कुरा गम्भीर रुपले छलफल एवम् परिमार्जन गरेर निर्णयमा पुग्नुपर्ने अवस्था रहेको पनि कङ्ग्रेस नेताहरुले बताएका छन्।
मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले एमालेसँग स्पष्ट हुन र अवधारणापत्रबारे लिखित जवाफको अपेक्षा गरिएको बताए।
नेपाली कङ्ग्रेसबाट प्रधान मन्त्रीका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो नेतृत्वमा सरकार बनाउन नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालसँग पनि आजै भेटवार्ता गरेका थिए। - रासस |