कांग्रेस र माओवादीलाई उम्मेदवारी फिर्ता लिन एमाले खनालको आग्रह
(२०६७ श्रावण १४, शुक्रवार)
काठमाडौं - एमाले अध्यक्ष झलनाथ खनालले शान्ति, संविधानजस्ता राष्ट्रिय विषय पुरा गर्न राष्ट्रिय सहमतिका लागि एमाले जोसुकै उम्मेदवारलाई पनि समर्थन गर्न तयार रहेको बताएका छन् ।
युवा सङ्घ केन्द्रीय समितिद्वारा बिहीबार राजधानीमा आयोजित शान्ति र संविधानका लागि राष्ट्रिय सहमति विषयक विचार गोष्ठीमा उनले कांग्रेस र माओवादीका प्रधानमन्त्रीका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर राष्ट्रिय सहमतिको नयाँ आधार तयार गर्न पनि आहृवान गरे । 'फेरि पनि बहुमतीय सरकारका लागि प्रतिस्पर्धा गरेमा हात लागे शून्य भई त्यो दुर्भाग्य हुनेछ, दश महिना फेरि त्यसै खेर जानेछ' खनालले भने ।
राष्ट्रिय सहमतिका लागि कांग्रेसलाई त्याग गर्न र माओवादीलाई विषयमा आधारित भएर विगतका सहमति कार्यान्वयन गरी उदाहरण प्रस्तुत गर्न उनले आग्रह गरे । नियम संशोधन गरेर भएपनि अहिलेको प्रधानमन्त्री चुनावको प्रक्रियाको अन्त गरेर सहमति खोज्न पनि खनालले आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले प्रधानमन्त्री निर्वाचनको अहिलेको चरण नटुङ्ग्याई नियम परिवर्तन गर्न नसकिने बताए । 'फुटबल खेल सुरु भयो तर हामी खेल्दैनौँ नियम परिवर्तन गरौँ भनेर हुन्छ? पहिले खेल टुङ्ग्याउँ,' उपसभापति सिंहले भने ।
नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार बनाउनका लागि मधेसवादी मोर्चाले उठाएको एक मधेस एक प्रदेशको माग स्वीकार गर्न नसकिने बताए । मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय सहमतिका लागि शान्ति प्रक्रियामा बाँकी रहेका काम सकेर लोकतान्त्रिक संविधान बनाउने र मधेस लगायतका विभिन्न क्षेत्रले उठाएका माग पुरा हुने आधार र विश्वास गराउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
नेकपा मालेका महासचिव सिपी मैनालीले लोकतन्त्र, शान्ति र संविधानप्रति बेइमान हुनेलाई प्रधानमन्त्री दिन नसकिने र त्यो अर्थमा माओवादीलाई सरकारको नेतृत्व दिन नसकिने स्पष्ट पारे । |