कपिलवस्तुमा एक मजदुरको हत्या
(२०६७ आषाढ २५, शुक्रवार)
कपिलवस्तु (तौलिहवा) - संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले बुधबार राति कपिलवस्तुमा एक मजदुरको हत्या गरेका छन् ।
प्रहरीका अनुसार त्यसरी हत्या हुनेमा रुपन्देहीको मुर्गीयामा स्थाई घर भई कपिलवस्तुको पुरुषोत्तमपुर गाविस स्थित शिवम् क्रसर उद्योगमा मिस्त्री पदमा कार्यरत अन्दाजी ३५ वर्षिय ज्ञानबहादुर सुनार रहेका छन् ।
सुनारलाई आपनो संगठनको विरुद्ध प्रहरी प्रशासनमा सुराकी गरेको आरोपमा हतियार सहित आएका सातआठ जनाको समूहले सुतिरहेको अवस्थामा कोठाबाट बाहिर निकाली हत्या गरिएको छ । हत्याको संयुक्त जनतान्त्रिक मुक्ति मोर्चा कपिलवस्तुका संयोजक शिवाले स्थानीय एफएम स्टेशनमा टेलिफोन गरी जिम्मा लिएका छन् । घटनास्थल इलाका प्रहरी कार्यालय कृण्णनगरदेखि पाँच किलोमिटर दुरीमा रहेकोछ ।
सुनारको छातीमा एक राउण्ड गोली लागेको कृष्णनगर प्रहरीले बताएकोछ । शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा परीक्षण गरी परिवारको जिम्मा लगाईको प्रहरीले जनाएकोछ । प्रहरीले हत्याराको खोजीकार्य जारी राखेको तर कसैलाई पक्राउ गरिनसकेको जनाएको छ । रासस |