बाह्र वर्षकै उमेरमा विशिष्ट श्रेणी / तेस्रो डिभिजनका २८१ लडाकू एसएलसी उत्तीर्ण
(२०६७ आषाढ १९, शनिवार)
कास्की (लेखनाथ) । कास्कीका एक किशोर १२ वर्षकै उमेरमा विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण हुन सफल भएका छन् । कास्कीको भाचोक गाविसस्थित जनकल्याण उच्च माविका नरेश सुवेदीले यस वर्षको प्रवेशिका परीक्षामा ८२.८८ प्रतिशत ल्याएका छन् । विद्यालयका प्रध्यानाध्यापक समेत रहेका उनका हजुरबुवा ऋषिराम सुवेदीका अनुसार नरेशको जन्म २०५४ साल बैशाख २ गते भएको हो । उनको सिम्बोल नम्बर ०४११६६९ ‘के’ हो । उनी सानै उमेरदेखि पढाइमा तीक्ष्ण थिए । ग्रामीण स्थानमा रहेको सो माविबाट यसपटकको प्रवेशिका परीक्षामा ४० जना विद्यार्थी सम्मिलित भएका थिए । तेस्रो डिभिजनका २८१ लडाकू एसएलसी उत्तीर्ण चितवन (रत्ननगर) । यस वर्षको एसएलसी परीक्षामा चितवनस्थित एमाओवादी तेस्रो डिभिजन शक्तिखोर शिविरका २८१ जना लडाकू उत्तीर्ण भएका छन् । परीक्षामा सहभागीमध्ये ५० प्रतिशतभन्दा बढी लडाकू उत्तीर्ण भएको तेस्रो डिभिजनस्थित जनसैनिक अनौपचारिक खुल्ला माविका प्रधानाध्यापक रोहित दाहालले जानकारी दिनुभयो । तेस्रो डिभिजन शक्तिखोरबाट ५४३ जना लडाकू एसएलसी परीक्षामा सहभागी भएका थिए । परीक्षामा उत्तीर्ण लडाकूमध्ये ३२ जना पहिलो श्रेणीमा उत्तीर्ण भएका छन् । त्यस्तै २०९ लडाकु दोस्रो श्रेणी तथा ४० जना लडाकू तेस्रो श्रेणीमा उत्तीर्ण भएका छन् । शिविरबाट ५९६ जना लडाकूले परीक्षाका लागि आवेदन दिए पनि ५० जना टेस्टअघि नै अनुपस्थित थिए भने तीनजना परीक्षाका बेला अनुपस्थित रहेको जनसैनिक विद्यालयले जनाएको छ । काठमाडाँै कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्याकाण्डका मुख्य अभियुक्त गोविन्दबहादुर बटाला पनि एसएलसी उत्तीर्ण भएका छन् । उनले भरतपुर कारागारबाट परीक्षामा सामेल भएका थिए ।