ठुलापाेखराकाे चाैवाहमा सामुदायिक स्वास्थ्य इकाई स्थापना (तस्बिरहरु)

ठुलापाेखराकाे चाैवाहमा सामुदायिक स्वास्थ्य इकाई स्थापना (तस्बिरहरु)


कमला पाेख्रेल 

ठुलापाेखरा, अर्घाखाँची ६ माघ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्वर ६ ठुलापोखरामा चौवाह सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको छ । 


स्वास्थ्य सेवाको पहुच नपुगेको स्थानमा सामुदायिक स्वास्थ्य इकाइको स्थापना भएपछि स्थानीयहरु खुशी भएका छन् ।


वडा नम्वर ६ ठुलापोखराको चौवाह आसपासका स्थानीयलाई स्वास्थ्य सेवा लिन सहजता होस भन्ने उदेश्यले सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको वडा अध्यक्ष कमल पौडेलले बताए । सामुदायिक स्वास्थ्य इकाइको आज एक कार्यक्रमका बिच छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले समुद्धाटन गरेका हुन । सामुदायिक स्वास्थ्य इकाइको उद्धाटन गर्दै अध्यक्ष पोख्रेलले चौवाह आसपासका स्थानीयलाई स्वास्थ्य सेवा लिन सजिलो होस भन्ने उदेश्यका साथ सामुदायिक स्वास्थ्य इकाइको स्थापना गरिएको बताए ।


प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरुको पहुच भन्दा टाढा रहेका स्थानहरु पालिकाका ४ स्थानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको उनको भनाई छ । उनले छत्रदेव गाउँपालिकालाई नेपालकै नमुना गाउँपालिका हुने गरी काम गरिरहेको बताउदै निर्वाचनको समयमा जनता सामु गरेको वाचा पुरा गरेको जानकारी दिए ।


प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले सामुदायिक स्वास्थ्य इकाइबाट प्राप्त हुने स्वास्थ्य सेवाको भरपुर उपयोग गर्न स्थानीयलाई आग्रह गरे । उनले उर्वर भुमी चौवाहको विकासका लागि गाउँपालिकाले प्राथमिकताका साथ काम गरेका बताएका छन् ।


सामुदायिक स्वास्थ्य इकाइ ब्यबस्थापन समितिका अध्यक्ष कमल पौडेलको अध्यक्षता, उपाध्यक्ष धनीश्वर पाण्डेको स्वागत मन्तब्य र रामबहादुर परियारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा छत्रदेव २ का वडा अध्यक्ष राजेश कुमार पन्थी, ४ का अध्यक्ष अशोक कुमार श्रेष्ठ, नेपाली कांग्रेसका पालिका उपसभापति फर्सुराम पाण्डे, नेकपा एमालेका जिल्ला सदस्य नेत्र प्रसाद गैरे, राप्रपाका डिलाराम पौडेल , नेपाल पत्रकार महासंघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, सरस्वती आधारभुत विद्यालयका प्रधनाध्यापक गोपाल पौडेल लगायतले मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु