नयाँदिल्लीमा एउटा क्लिनिकको लापरबाहीका कारण कलिला दुई नेपाली बच्चाको ज्यान गयो

नयाँदिल्लीमा एउटा क्लिनिकको लापरबाहीका कारण कलिला दुई नेपाली बच्चाको ज्यान गयो


२०७८ श्रावण २०, बुधवार मा प्रकासित

पर्शुराम काफ्ले नयाँपत्रीका 

दिल्ली । भारतको नयाँ दिल्लीमा एउटा क्लिनिकको लापरबाहीका कारण आइतबार साँझ एक नेपाली दम्पतीका कलिला दुई सन्तानको ज्यान गएको छ । बाजुरा बुढीगंगा–५, नुहाँघरका मनबहादुर विककी ६ वर्षीया छोरी लक्ष्मी र तीन वर्षीय छोरा विशालको स्वास्थ्यकर्मीको गलत औषधिका कारण मृत्यु भएको भन्दै परिवारले प्रहरीमा उजुरी दिएको छ । मनबहादुरले दिल्लीमा १५ वर्षदेखि चौकीदार पेसा गर्दै आएका छन् । 


आइतबार अपराह्न दुवै बच्चाले बान्ता गरेपछि मनबहादुरले शालिमारबागस्थित शुभम डाइग्नोस्टिक सेन्टरमा लगेर जँचाएका थिए । ‘क्लिनिकका स्वास्थ्यकर्मी वेदकुमार गर्गले दिएको औषधि खाएपछि दुई बालबालिकाले झनै धेरै बान्ता गरे,’ घटनापछि प्रहरी र नेपाली दूतावाससँग समन्वय गरेका अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरवी खड्काले दिल्लीबाट टेलिफोनमा भने, ‘दोस्रोपटक क्लिनिक लगेपछि बच्चालाई सुई लगाइएको रहेछ । सुई लगाएपछि १०÷१० मिनेटको फरकमा दुवै बच्चाको मृत्यु भयो ।’ दुवै बालबालिकाको मृत्युपछि मनबहादुरका आफन्तजन र नेपालीहरूले क्लिनिकबाहिर नाराबाजी गर्दै स्वास्थ्यकर्मीलाई कारबाहीका लागि माग गरेका थिए । 

‘घटनाका बारेमा थाहा भएलगत्तै हामी शालिमारबाग पुग्यौँ । आइतबार राति प्रहरीलाई सुरुमा जानकारी दिँदा राम्रो रेस्पोन्स भएन’ खड्काले भने, ‘तर, हामीले प्रहरीमा एफआइआर (फस्ट इन्फर्मेसन रिपोर्ट) गर्‍यौँ, तर भारतीय कानुनअनुसार स्वास्थ्यकर्मीलाई तत्कालै पक्राउ गर्न नमिल्दो रहेछ । लापरबाहीपूर्ण तरिकाले गलत औषधि दिएका कारण छोराछोरीको मृत्यु भएको भन्दै मनबहादुरले उनीविरुद्ध कडा कारबाहीका लागि सोमबार माग गरिएको खड्काले बताए । उनले भने, ‘बच्चाहरूलाई सुई लगाइदिने र औषधि दिने गर्ग प्रहरीको निगरानीमा छन्, तर पक्राउ गरिएको छैन ।’ प्रारम्भिक अनुसन्धानमा स्वास्थ्यकर्मी गर्ग एमबिबिएस डाक्टर नभएको खुलेको छ । ‘हाम्रा सिएमए टाइपका स्वास्थ्यकर्मी रहेछन्, उनको २५ वर्ष पुरानो सर्टिफिकेटमाथि प्रहरीले छानबिन थालेको छ, क्लिनिक बन्द गरिएको छ,’ खड्काले भने ।

खड्काका अनुसार मृतक बालबालिकालाई आइतबार झांगिपुरी लगिएको थियो । ‘सफ्दरजंग अस्पतालसहित तीनवटा अस्पतालका डाक्टरलाई राखेर उनीहरूको शव पोस्टमार्टम भयो,’ उनले भने, ‘मंगलबार अपराह्न १५ जना प्रहरीको उपस्थितिमा हैदरपुरस्थित घाटमा उनीहरूको दाहसंस्कार भयो ।’  मनबहादुर चौकीदार हुन् भने उनकी श्रीमती घरेलु कामदार हुन् । ‘विचराहरूलाई साह्रै ठूलो बज्रपात भयो, आर्थिक स्थिति पनि नाजुक रहेछ,’ खड्काले भने, ‘क्लिनिक र स्वास्थ्यकर्मीमाथि कडा कारबाही गर्न सकिए उनीहरूको आत्मालाई शान्ति मिल्ने थियो ।’ नेपाली दूतावासले पनि दिल्ली प्रहरीसँग समन्वय गर्दै मेडिकल ऐनअनुसार कडा कारबाहीका लागि आग्रह गरेको छ । नयाँपत्रीका समाचार छ । 
नयाँदिल्लीमा एउटा क्लिनिकको लापरबाहीका कारण कलिला दुई नेपाली बच्चाको ज्यान गयो

अन्य समाचारहरु