कविता:- नववर्षको शुभकामना

कविता:- नववर्षको शुभकामना
- सीता भट्ट / कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.२१-पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क

उत्साह बोकी नववर्ष आयो
नवीन आशा सबमा पलायो
तमाम पीडा अब होस् सुदूर 
हाम्रो यही नै शुभकामना छ ll १ ll

अतीत सम्झे मन हुन्छ भारी
भो स्वार्थको मात्र सधैं सबारी 
छ घाउ गैह्रो पुरियोस् तुरुन्त 
हाम्रो यही नै शुभकामना छ ll २ ll

नाङ्गो भयो देश लुटेर सारा
र शेष भो केवल आँसु धारा
त्यो आँसु कैले नि नझर्नु पर्छ 
हाम्रो यही नै शुभकामना छ ll ३ ll

कुभावले चित्त जलाउनेछ
गर्दा खुराफात रुवाउनेछ
फैलोस् सदाचार ढलोस् कुभाव 
हाम्रो यही नै शुभकामना छ ll ४ ll

टुट्नेछ सम्वन्ध विखण्डबाट 
सद्प्रेम मर्नेछ बढेर ढाँट
अखण्ड नेपाल रहोस् अखण्ड 
हाम्रो यही नै शुभकामना छ ll ५ ll

रहोस् सबैसङ्ग पवित्र सोच 
अकासियोस् मान र शान,ओज 
चाँडै बनोस् शान्त समृद्ध देश 
हाम्रो यही नै शुभकामना छ ll ६ ll

(छन्द :-उपजाति)