भारतमा अब १८ बर्ष माथिका सवैलाई कोरोना खोप लगाउन पाइने व्यवस्था

भारतमा अब १८ बर्ष माथिका सवैलाई कोरोना खोप लगाउन पाइने व्यवस्था


एजेन्सी

नयाँ दिल्ली- भारतमा १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन पाइने व्यवस्था गरिएको छ ।

मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्रीय राजधानी नयाँ दिल्लीमा रहेका सार्वजनिक अस्पतालहरूमा निःशुल्क खोप लगाउन पाइने व्यवस्था गर्ने निर्णय भएको सोमबार जानकारी दिनुभयो ।

अहिले बचत रहेको एक करोड ३४ लाख खोप आम सर्वसाधारणलाई लगाउन थालिने उहाँले बताउनुभयो ।

“दिल्ली सरकारले १८ बर्ष माथिका सवैलाई कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने व्यवस्था गर्ने निर्णय गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँले अहिले भएको खोप सकिएपनि अरु खोप बचत नै रहने गरी व्यवस्था गर्न प्रयास गर्ने आश्वासन पनि दिनुभयो ।

सवैलाई निःशुल्क खोपको व्यवस्था गर्ने निर्णय अन्य प्रदेशहरूले भने यसअघि नै गरिसकेका थिए । दिल्ली बाहेक महाराष्ट्र, कर्नाटक, हरियाणा, ओडिसा, झारखण्ड र पश्चिम बङ्गालमा सबैलाई निःशुल्क खोपको व्यवस्था गरिएको हो ।

आम नागरिकले कारोनाको खोप लगाएमा सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या न्युनिकरण हुने मुख्यमन्त्री केजरीवालले विश्वास लिनुभएको छ ।

जति धेरै जनालाई खोप लगाउन सकियो, त्यति धेरै महामारीलाई कम गर्न सकिने उहाँको भनाइ छ ।

भारतमा प्राथमिकता निर्धारण गरेर उच्च प्राथमिकतामा परेकाहरुलाई खोप लगाउन दिइएको थियो भने सर्वसाधारणलाई अहिले मात्र विभिन्न प्रदेशमा सुरु गरिएको छ ।

केन्द्रीय सरकारले भने आगामी मे १ देखि मात्रै देशभरीका १८ बर्ष माथिका सबैलाई खोप लगाउने व्यवस्था गर्ने घोषणा गरेको थियो ।

भारतमा कोरोनाभाइरसविरुद्धको कोभिसिल्ड र कोभ्याक्सिन खोप आँफै उत्पादन गर्दै विक्री वितरण हुँदै आएको छ ।

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्वको सहयोग

दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई आवश्यक र सक्दो सहयोग गर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ “जसरी भारतले हामीलाई महामारीको सुरुवाती चरणमा अस्पतालहरूको सहयोगका निम्ति मद्दत ग¥यो, अहिले हामी पनि भारतलाई मद्दत गर्नेछौँ,’’ उहाँले भन्नुभएको छ ।

यसअघि भारतमा कोभिड विरुद्धको खोप आस्ट्राजेनेका खोप निर्माणका निम्ति आवश्यक कच्चा पदार्थमा रोक लगाएको थियो तर त्यो निर्यात प्रतिबन्धलाई अमेरिकाले हटाइदिएको बताएको छ । बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजनको प्रयोगका लागि आवश्यक उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि भारतलाई विभिन्न खालको सहयोग पठाउँदैछन् ।

भारतइि राजधानी नयाँ दिल्लीका अस्पतालहरू बिरामीले भरिएका छन् । यहाँ आएका विरामीलाई अस्पतालले फर्काउँदैछन् । त्यस्तै पछिल्लो समयमा त्यहाँ लकडाउन पनि लम्ब्याइएको छ । भारत सरकारले अक्सिजनको उत्पादनमा बढाउने योजना थालेको छ । भारतले देशभरमा ५०० वटा अक्सिजन उत्पादनसम्बन्धी कारखाना खोल्न अनुमति दिएको बताइएको छ ।

 भारतमा  छैटौं दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख २३ हजार १ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । यसअघि आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९८ हजार ८ सय ९४ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ७६ लाख ३६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४५ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १६ लाख ५८ हजार ७ सय नमुना परीक्षण भएको थियो । - एजेन्सी, नेपाल टि.भी  

अन्य समाचारहरु