अर्घाखाँचीमा ३७ वर्ष यताकै ठूलो वर्षा | अर्घाको माटेमा किराना समान भएको टंकी नै बगायो

अर्घाखाँचीमा ३७ वर्ष यताकै ठूलो वर्षा | अर्घाको माटेमा किराना समान भएको टंकी नै बगायो


अर्घाखाँचीडट्कम संवाददाता | लक्ष्मण घिमिरे | हलिम खान  

अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घाको माटेमा खोलाले किराना समान भएको टंकी बगाएको छ । 


३७ वर्ष यताकै ठूलो बाढी आएपछि  गौरब चुदालीको किराना समान भएको टंकी बगाएको हो । उक्त टंकीमा करिब ३ लाख बराबरको समान बगाएको चुदालीले बताए ।
  

यस्तै खाँचीकोटको गच्छे बजारमा कुखुरा फर्ममा बाढी पस्दा १ हजार कुखुरा मरेका छन् । चारदिनको अविरल वर्षाले बाँगी खोलाको बाढीले कुखुरा फर्ममा क्षती पुर्‍याएको हो ।

सन्धिखर्क नगरपालिका–१, गच्छे बजारमा भुमिकास्थान–९, ढिकुराका गणेश नेपालीले गर्दै आएको कुखुरा पालन बाढीले सखाप पारेको स्थानिय ऋषी चुँदालीले जानकारी दिए । गएराती ११ बजेको समयमा आएको बाढीले ब्रोईलर जातका १ हजार बढी कुखुरा मरेका पिडित नेपालीले बताए । संगै रहेको बुंगुर फर्म भने सुरक्षित रहेको नेपालीको भनाई छ ।


३७ वर्ष यताकै ठूलो बाढी आएपछि सन्धिखर्क–२, चुत्राबेसीका बस्ती डुबानमा परेका छन् । अविरल बर्षाका कारण आएको बाढीले सन्धिखर्क बाँगीखोला आसपासका चुत्राबेसी, मसालबजार, घोंचेखोला लगायतका केही बस्ती डुबानमा परेका हुन् । यहाँका करिब ६० घरमा बाढी पसेको छ ।

बाढी सहित आएको बाँगी खोलाले दुईवटा फलामे पुल बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । चुत्राबेसीमा रहेको अर्घाखाँची पेट्रोलपम्पको क्षेत्र पनी डुबानमा परेको छ । खोलाले त्यस क्षेत्रका विद्युतिय पोल बगाउँदा तारहरु भुँईमा यत्रतत्र भएका छन् ।


सन्धिखर्कको घोंचेखोला र संखेटारीका केहि घर पहिरोको जोखिममा छन् । सन्धिखर्क नगरपालिकाको पहलमा विभिन्न बस्तीमा पसेको खोला र अवरुद्व सडक खुलाउने काम भैरहेको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमलप्रसाद भुसालले जानकारी दिए ।

अन्य समाचारहरु