आँखा र सपना (कविता)

राकेश कार्की
लस एन्जेलस

फेरि मैले आज सपना देखेँ
आँखाहरु न हुन् सजाएर राखेछन्

समुन्द्रमा ठूलो पानीजहाज
ओर्लिएपछि 
छोडिजान्छ पर पर
आँखाबाट ओझेल नहुन्जेलसम्म

कहिलेकाहीँ आइदिन्छन्
त्यो पनि सपनीमा
आँखाहरु त हुन्
क्यामेराको पिक्सेल र मेमोरि जस्तो
सधैँ भरिलाई क्याप्चर गरेर राख्छ

त्यस्तै हो रेल पनि
हवाइजहाज पनि
छोडिजान्छ पर पर
आँखाबाट ओझेल नहुन्जेलसम्म

संगै संगैका रमाइला साथहरु पनि
कोही पढ्न भनेर
कोही लड्न भनेर
कोही कमाउन
कोही मन बुझाउन
जान्छन् पर पर
आँखाबाट ओझेल भएर
अन्तै कतै
अर्कै ठाउँमा

तर आइदिन्छ बेला बेलामा
सपनि बनेर
उनीहरु संगको
रमाइला क्षणहरु

कोही फर्किआउछन् फेरि
प्रत्यक्ष
आँखाको सामुन्ने

तर कोही केवल 
सजिरहन्छन् आँखामा
सपना बनेर
फेरि फेरि देखिनलाई