जाजरकोटको औलरिजामा झाडापखालाबाट दुई बालकको मृत्यु

जाजरकोटको औलरिजामा झाडापखालाबाट दुई बालकको मृत्यु

भीमबहादुर सिंह कान्तिपुर

जाजरकोट — कुशे गाउँपालिका–८, औलरिजामा झाडापखालाले दुई बालकको मृत्यु भएको छ । पखालाका कारण औलरिजामा एक वर्षीय पुजना तिरुवा र ९ महिनाका जगत खड्काको मृत्यु भएको हो । पखाला लाग्ने, वान्ता हुने र ज्वरो आउने लगायत लक्षण देखा परेका दुवै जनालाई उपचारमा लैजाँदै गर्दा मृत्यु भएको हो ।

छोरा जगतलाई पखालाका साथै वान्ता आउन थालेपछि उपचारका लागि स्थानीय मेडिकलमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बाबु खिमबहादुर खड्काले बताए ।

झाडापखालाले गाउँमा दर्जन बढी दुधे बालक बिरामी परेको खड्काले बताए ।

बालबालिका बिरामी परेको खबर आएपछि जाजरकोट अस्पतालका डा. इन्द्र थापाको टोली औषधिसहित औलरिजा पुगेको डा. अमिन शाहले बताए । टोलीले औलरिजामा झाडापखालाका ४०/५० जना बिरामीको उपचार गरेको डा. शाहले बताए । ओलरिजाको झाडापखाला नियन्त्रणमा आएको र बिरामीको अवस्था सामान्य रहेको उनले बताए ।
 

अन्य समाचारहरु