ठुलापोखरामा गरिब तथा विपन्न परिवारलाई पानी टंकी वितरण

ठुलापोखरामा गरिब तथा विपन्न परिवारलाई पानी टंकी वितरण


अर्घाखाँचीडट्कम संवाददाता 

ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वार्ड नं. ६ ठुलापोखरामा सञ्चालित गरिबसँग विश्वेश्वर कार्यक्रम मार्फत उक्त वार्डका ५६ गरिब तथा विपन्न परिवारलाई खानेपानी संकलनका लागी ५०० लिटर क्षमताका पानी टंकी वितरण गरिएको छ । 


विगत ४ वर्षदेखी वार्ड भित्रका करिब ३२५ गरिब तथा विपन्न घरपरिवारलाई विभिन्न समूहमा विभाजन गरि विभिन्न खालका गरिबि निवारण सँग सम्बन्धित कार्यक्रमहरू वार्ड कार्यालय मार्फत गरिदैं आएको छ । सुरूका २ आर्थिक वर्षमा उन्नत जातका बोयर बाख्रा वितरण गरि गरिब घर परिवारको आयआर्जनका लागि सहयोग पुराउने उद्धेश्यले कार्यक्रम लागु गरिएकोमा अघिल्लो वर्षदेखी समूहमा आबद्ध सदस्यहरूकै चाहनामा पानी टंकी वितरण कार्य अगाडी बढाईएको वडाअध्यक्ष कमल पौडेलले जानाकारी दिनुभयो । 


गरिबसँग विश्वेश्वर कार्यक्रमको प्रमुख उद्धेश्य नै गरिबीको रेखामुनी रहेका नागरिकको जिवनस्तर उठाउन आवश्यक सहयोग गर्नु रहेको पौडेलले बताउनु भएको छ जसका निम्ति हरेक वर्ष यस कार्यक्रमका लागि पुँजिगत शिर्षकमा केही रकम विनियोजन हुने गर्दछ जसबाट यस प्रकारका नविनतम कार्यक्रमहरू सञ्चालित हुँदै आएका छन् ।


सामाजिक परिचालक बिन्दु भण्डारी पाण्डेका अनुसार यस वडा भित्र कुल १० वटा गरिब सँग विश्वेश्वर कार्यक्रमका समूहहरू क्रियाशिल छन जसले मासिक बचत जम्मा गर्ने र समूहमै गरिबी निवारणका निम्ति परिचालन गर्ने गर्दछन भने यी समूहहरूमा करिब रू. ३ लाख साठी हजार बराबरको बिउपुँजी समेत परिचालित छ ।  जसको माध्यमबाट समूहका सदस्यहरूले बाख्रा, कुखुरा,भैंसीपालन लगायत कृषी क्षेत्रमा लगानी गर्न सामान्य ब्याजदरमा ऋण प्राप्त गर्दछन र नियमानुसार समूहमा परिचालन गरी गरिबी निवारणमा लाग्दछन ।

अन्य समाचारहरु