२० प्रतिशत सजाय छुटमा वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदी जेल गए

काठमाडौं -  वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी सर्वोच्च अदालतले फैसला सुनाएको एक सातापछि बुधबार आफैं अदालतमा हाजिर भई जेल गएका छन् । चतुर्वेदीले सर्वोच्च अदालतले ठहर गरेबमोजिम बुधबार १ करोड ११ लाख जरिवाना नगद बुझाएका छन् ।

'म सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छु,' अदालत खुलेको एक घन्टापछि बिहान ११ बजे काठमाडौं जिल्ला अदालत पुगेका चतुर्वेदीले भने,  'त्यही भएर यहाँ आफैं आएको हुँ ।'

उनको साथमा पत्नी आशा र छोरा अभिषेक पनि आएका थिए । प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको इजलासले गत २१ गते चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिवाना, विभिन्न चल/अचल सम्पत्तिको जफत र डेढ वर्ष कैद हुने फैसला गरेको थियो । फैसलाको एक सातासम्म चतुर्वेदी प्रहरी सम्पर्कबाट जोगिएर बसेका थिए ।

पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई अदालतका कर्मचारीले फैसला भएको २४ घन्टाभित्र जेल हालेका थिए । आफू पनि त्यसैगरी पक्राउ होइएला भन्ने डरले चतुर्वेदी लुकेका थिए । 'फैसला पाएदेखि नै प्रहरीले उनलाई खोजिरहेको थियो,' सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्ने निकाय काठमाडौं जिल्ला अदालत तहसिल शाखाका तहसिलदार पुनराम खनालले भने, 'आजचाहिँ आफैं आए र जेल गए ।'

मुलुकी ऐन अदालती बन्दोबस्तीमा भएको व्यवस्थाअनुसार फैसला भएको ६० दिनभित्र दोषी आफैं अदालतमा उपस्थित भई जेल र जरिवाना तिर्न तयार भए सजायको २० प्रतिशत कैद र जरिवाना मिनाहा हुने उल्लेख छ ।

घरमा पक्राउ पर्नबाट जोगिएर आफैं अदालत आएका चतुर्वेदीले पनि त्यो सुविधा पाएका छन् । 'उनका सम्बन्धमा पनि त्यो सुविधा लागू भएको छ,' खनालले भने, 'उनको जेल र जरिवाना दुवै २० प्रतिशतले काटिएको छ ।'

मुलुकी ऐनअनुसार चतुर्वेदीलाई २५ लाख जरिवाना मिनाहा भएको छ भने ६ महिना २४ दिन कैद बस्नु नपर्ने भएको छ ।

चतुर्वेदीले १ करोड ११ लाख रुपैयाँ जरिवाना तिरेका छन् । त्यो रकम उनले राष्ट्र बैंकमा नगदै जम्मा गरिदिएका थिए । 'अहिलेसम्म कसैले पनि यतिका रुपैयाँ नगद जम्मा गरेको थिएन,' खनालले भने । तहसिल शाखाले बेलुका तीन बजेतिर चतुर्वेदीको मिनाहासहितको कागजपत्र तयार पारेको थियो ।

उनलाई केेन्द्रीय कारागार जगन्नाथ देवल लगिएको छ । चतुर्वेदी त्यहाँ अब ११ महिना ६ दिन बसेपछि मुक्त हुनेछन् ।

सर्वाेच्चले उनलाई दोषी ठहर गर्दै तयार पारेको डेढ सय पृष्ठ लामो फैसलामा करोडौंको सम्पत्ति जफत हुने पनि उल्लेख छ । फैसलाअनुसार उनको नगद सम्पत्तिमध्येबाट ७७ लाख ५९ हजार ८ सय ३८ रुपैयाँको स्रोत खुलेको छैन । त्यो र त्यसबाट बढे/बढाएको सबै सम्पत्ति, पर्साको भिन्दाभिन्दै २ कित्ताको ५ कट्ठा जमिन, काठमाडौं कोटेश्वरको कित्ता नं. ६५ को २ रोपनी ९ आना १ पैसा ३ दाममध्ये उनको भागमा पर्ने आधा र कोटेश्वरकै कित्ता नं. ७९१ को २ आना १ पैसा जमिन पनि जफत हुनेछ ।

एभरेस्ट बैंकमा उनकी छोरी अदितीको नाममा भएको १० लाख रुपैयाँ, उनको नाममा भएको एसबीआई बैंकको ५७ हजार, नेपाल बैंकको ३२ हजार, श्रीमती आशाको नाममा भएको नेपाल बैंकको ५५ हजार, हिमालयन बैंकको ७४ हजार र छोरा अभिषेकको नाममा भएको कृषि विकास बैंकको ५० हजार पनि जफत हुनेछ । अख्तियारले १० वर्षअघिदेखि रोक्का गरेको यी बैंक खातामा भएका रकम र त्यसमा जम्मा भएको ब्याज पनि जफत हुनेछ ।

चतुर्वेदीको नेपाल मेडिकल कलेजमा ३० लाख र ओम अस्पतालमा उनका छोराको ३० लाखको सेयर लगानी छ । दस वर्षदेखि त्यसको लाभांशसहित सबै सम्पत्ति पनि जफत हुने फैसलामा छ । खनालका अनुसार सेयर र जग्गाको लगत तयार गरी त्यसको अहिलेको भाउमा मूल्यांकन गर्ने प्रक्रिया अघि बढिरहेको छ ।

अन्य समाचारहरु