ठाडाको श्री दरबारे आधारभूत विद्यालय खुम्चिकोटमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

ठाडाको श्री दरबारे आधारभूत विद्यालय खुम्चिकोटमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न


जननीखबर

ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका प्रमुख सूर्यप्रसाद अधिकारीले बिहीबार दाताबाट प्राप्त सहयोगबाट पनि शिक्षा लिनुपर्ने बताएका छन् । श्री दरबारे आधारभूत विद्यालय खुम्चिकोटमा नगरपालिकाको १२ नं वार्ड ठाडाका आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीका लागि हाम्रो जन्मभूमि सामाजिक संस्था काठमाडौँले ५० वटा झोला र ५७२ वटा कापी वितरण गर्ने कार्यक्रम राखेको थियो ।


कार्यक्रममा उक्त विद्यालयसहित सोही वडाका दमारेको बालज्योति, देउरालीको जयकोट र खल्याखर्कको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिँदै थियो । ʽआफ्ना सन्तानलाई न्यूनतम शैक्षिक सामग्री जुटाइदिन नसक्ने अभिभावका छोराछोरीको शिक्षा पाउने अधिकार यस्तै उदार मन भएका व्यक्तित्वबाट पुरा हुनुपर्छ,ʼ शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै पारिश्रमिक स्वरूप सरकारबाट आफूले पाउने रकम गरिब विद्यार्थीको शिक्षामा दिने नगरप्रमुख अधिकारीले भने, ʽविद्यार्थीहरूले शैक्षिक सामग्री पाएकामा निकै खुसी छु ।ʼ

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिका उम्मेदवार एवं कांग्रेस महासमिति सदस्य उनले शिक्षक र विद्यालय सञ्चालक समितिका सदस्यले पनि यस्ता कार्यक्रमबाट पाठ सिक्नुपर्ने बताए । ʽयस्तो सहयोगको भावना हामीमा पनि आउनुपर्छ,ʼ उनले थपे । दमारेका कक्षा २ मा अध्ययनरत विद्यार्थी विकास जिसी नयाँ झोला पाएर मुस्कुराउँदै थिए । उनले शब्दमा खुसी व्यक्त गर्न भने सकेका थिएनन् ।

सामाजिक संस्थाकी सदस्य शोभा पौडेलले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन् भने कोषाध्यक्ष नारायण श्रेष्ठले उक्त संस्थाले मृगौला रोग, मुटु रोगबाट पीडितहरूलाई पनि सहयोग गर्दै आएको बताए । उनले सहृदयीबाट आम्दानीको १० प्रतिशत रकम जम्मा गरी यस्ता व्यक्तिलाई सहयोग गरिँदै आएको बताए । सामाजिक संस्थाका सल्लाहकार सागर श्रेष्ठले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई पनि आफ्नो संस्थाले सघाउने गरेको बताए ।

अन्य समाचारहरु