अर्घाका विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत बसन्त भुसालको करेन्ट लागेर मृत्‍यु

अर्घाका विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत बसन्त भुसालको करेन्ट लागेर मृत्‍यु


अर्घाखाँचीडट्कम संवाददाता 

डिभर्ना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ९ अर्घा मैदानका नेपाल विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत बसन्त भुसालको करेन्ट लागेर मृत्‍यु भएको छ । 


अर्घा मैदानका नेपाल विद्युत प्राधिकरण कार्यालय बुटवलमा कार्यरत ४७ वर्षीय बसन्त भुसालको आईतवार करेन्ट लागेर मृत्‍यु भएको हो । 

बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर भुसालको मृत्यु भएको थियो । आइतबार भएको उक्त घटनामा २ जना गम्भीर घाइते भएका छन्। भुसाल हाल बुटवल-३ गोलपार्कमा बस्दै आएका थिए । 

अर्घाखाँचीडट्कमलाई प्रहरीले दिएको जानकारी अनुसार उपमहानगरको निर्माणाधीन भवनमा थ्री फेज लाइन जडान गर्ने क्रममा उनलाई करेन्ट लागेको हो। 

करेन्ट लागेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगेका भुसाललाई चिकित्सकले मृत घोषणा गरेका थिए।

साथै सोही भवनमा काम गरिरहेका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर नगरपालिका-१६ का २८ वर्षीय राजगोपाल चौधरी पनि करेन्ट लागेर घाइते छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरेको छ । 

अन्य समाचारहरु