ढिकुराका टिका ३५ बर्षदेखि आरन पेशामा रम्दै, लोपहुने अवस्थामा पुर्खौली पेशा

ढिकुराका टिका ३५ बर्षदेखि आरन पेशामा रम्दै,  लोपहुने अवस्थामा पुर्खौली पेशा


कृष्ण परियार 

सन्धिखर्क, अर्घाखाँची । आधुनिक प्रबिधिको बढ्दो प्रयोगसंगै पुर्खौली  पेशाहरु हराउन थालेका छन् । तामाका भाँडाहरु बनाउने ,फलाम बाट विभिन्न औजारहरु बनाउने , काठबाट ठेकी, मानो, पाथी लगायत काठका विभिन्न भाँडाहरु बनाउने पुराना पेशाहरु बिस्तारै हराउदै गएका हुन् । पुराना पेशाहरु लोपहुन थाले संगै अहिले बालिघरे प्रथा पनि हराउँदै गएको छ ।


बालिघरे प्रथा हराउदै गएपनी अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ९ ढिकुरा गैरागोठका टीका बहादुर बिकले भने बालिघरे रुपमै आरनको काम गर्दै आइरहेका छन् । स्थानीय ९५ घरधुरीमा बालिघरे बनेर नै फलामका विभिन्न औजारहरु बनाउदै आएको बिकले बताए ।

उनले भने बालिघरे प्रथा हराउँदै गएको छ तर मैले भने अहिले पनि काम गर्दै आएको छु । बर्षभरी काम गरेको नयाँ बाली भित्र्याउने समयमा थोरै थोरै पाउने गरेको छु ,कसैले पैसा नै दिने गर्नुहुन्छ । तीन सय देखि ५०० सम्म दिने गरेको उनले सुनाए । 


बिहान उज्यालो भएदेखी बाट साझसम्म नै काममा खटिने गरेपनि दैनिकी चलाउन र आबश्यकताहरु पूरा गर्न गार्हो -गार्हो पर्ने गरेको  उनको भनाइ छ । मासिक रूपमा २० देखि ३० हजार सम्म कमाउने गरे पनि खर्च धान्नलाइ मुस्किल पर्ने गरेको उनले बताए । ११ बर्षको उमेर बाट लगातार यो काम गर्दै  आएका उनी अहिले ४६ बर्षका भए । एक छोरा, तीन छोरी ,श्रीमती र आफू गरि ६ जनाको  परिवारको सम्पुर्ण आबश्यकता हरु यहि पेशाबाट चलाउदै आएको उनले बताए । खर्च चलाउन मुस्किलनै पर्ने गर्थ्यो अहिले तीन छोरिको बिबाह भै सक्यो हाल परिवारमा छोरा श्रीमती र म गरि तिनजना छौ , छोराले कक्षा ८ मा पढ्दै गरेको छ अहिले अलि अलि काममा पनि सघाउछ उनले भने ।


आगोको रापसँगै फलाम पिटेर बिभिन्न औजारहरु निर्माण गर्ने आरन व्यवसायीको पेशा अहिले भने संकटमा पर्न थालेको छ ।
पाका पुस्ताले अंगालेको  पेशालाई आधुनिकीकरण गर्न नसक्दा युवा पुस्ताले चासो दिन छोडेका छन् । पुस्ता हस्तान्तरण हुन नसक्दा परम्परागत पेशाहरु बिस्तारै  लोप हुने अवस्थामा पुगिसकेका छन्  ।

अहिले स्थानीय तहमा स्थानीय सरकार भए पनि पुर्खौली पेशा संरक्षणको लागि  ध्यान दिएको पाइदैन । घरमा दैनिक प्रयोग हुने भाँडाकुँडा, कृषि औजारदेखि बिहे/ब्रतबन्ध र मन्दिरमा चढाइने त्रिशुल, खुडा ,तरबार  जस्ता विभिन्न सामग्रीहरु अहिले पनि आफूहरूले बनाउँदै आएको उनले बताए । दैनिक प्रयोगमा आउने चुलेसिमा धार लगाएको २० रुपैयाँ , हसियामा धार लगाएको ४० रुपैयाँ , दाउमा धार लगाएको ८० रुपैयाँ ,कोदालो फरुवामा तथा बन्चरोमा धार लगाएको १०० रुपैयाँ ,खुकुरी,खुडा, तरबारमा धार लगाएको २०० रुपैयाँ लिने गरेको उनको भनाइ छ । यस्तै नयाँ हसियाहरु बनाएको साइज हेरेर ४०० देखि १,००० रुपैयाँ सम्म,  खुकुरी , खुडा, तरबार बनाएको १५ सय  देखि ८ हजार  सम्म लिने गरेको उनले बताए । पहिले पहिले बनबाट नै गोलबनाउनको लागि काठ उपलब्ध हुने भएपनी अहिले भने त्यस्को लागि आफुले नै काठ किन्नु पर्ने उनको भनाइ छ । अहिले सम्म सरकारबाट ५० पर्तिशत अनुदानमा एउटा मेसिनमात्र प्राप्त भएको र अन्य सहयोग भने नभएको उनले बताए । 


पहिले पहिले गाउँ घरमा आवश्यक पर्ने घरायाशी औजारहरु यिनै आरनवाट बन्ने गर्दथे। विगतमा यो पेशा स्वाबलम्वी  ग्रामिण समाजको एउटा महत्वपूर्ण पाटोको रुपमा रहेको  थियो ।

अब भने आरन र आरनमा काम गर्ने मानिस, दुवै घट्दै गएका छन्। आरनवाट औजार बनाउने प्रविधिमा समयानुकुल सुधार हुन नसक्नु यसको मुख्य कारण मानिएको छ । यसवाट गुजारा चलाउन गाह्रो भएकै कारण यो पेशा संकटमा पर्दै गएको हो ।

ज्याला कम आउने तर मेहनत भने धेरै गर्नुपर्ने भएकोले युवा पुस्ताले यो पेशालाइ भने अगाल्न छाडिसकेका छन् ।  


अहिले पनि  ग्रामीण क्षेत्रमा अधिक प्रयोग हुने कुटो, कोदालो, हँसिया, खुकुरी ,बन्चरो जस्ता कृषि औजारहरु आरनबाटै बन्ने गर्दछन् । 
आरनबाट औजार बनाउने प्रविधिमा सुधार गरी यो पेशालाई प्रोत्साहित गर्न सके स्थानीय स्तरमा रोजगार सृजना गर्न यो व्यवसाय पनि एउटा राम्रो माध्यम हुनसक्ने देखिन्छ ।

अन्य समाचारहरु