खाँचीकोटका गणेश भुसालको चितवनमा मेवा खेती, लोभलाग्दो आम्दानी गर्न थाले

खाँचीकोटका  गणेश भुसालको चितवनमा मेवा खेती, लोभलाग्दो आम्दानी गर्न थाले


रामशरण गैरे

दिव्यनगर, चितवन । विगत १८ वर्षदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं–२५, दिव्यनगरमा २२ बिघा जग्गामा तरकारीखेती गरेका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको माझगाउँका ५४ वर्षीय किसान गणेश भुसाल मेवाबाट लोभलाग्दो आम्दानी गर्न थालेका छन् । अभियान बहुमुखी कृषि फर्म सञ्चालन गरेका भूषालले पछिल्लो समय मेवाखेतीबाट राम्रो आम्दानी लिन थालेका हुन् ।


पाँच कट्ठामा मेवा रोपेर प्रयोग गरे उनले । एउटै बोटमा एक क्विन्टलसम्म फल्यो । मेवाले अहिले सन्तुष्टिसँगै लोभलाग्दो आम्दानी पनि दिन थालेको उनी बताउँछन् । ‘चितवनमा अनुकूल हावापानी छ, मेवाबाट मनग्य आम्दानी लिन सकिन्छ’, उनले भने । राम्रो सम्भावना देखेपछि व्यावसायिक मेवाखेतीको अवधारणाअनुरुप अघि बढेको उनी बताउँछन् ।

नेपालमा मेवाखेती हुँदैन भनेर भनिन्छ र गरे पनि सफल भएको छैन । तर, गत वर्षको लकडाउनमा उनले मेवाखेती सफल बनाएरै छाडे । ‘डेढ बिघामा लगाएको छु, तयार हुने अवस्थामा छ’, भूषालले भने, ‘दसैँलाई लक्षित गर्दै अहिले पहिलो चरणको उत्पादन सँगालेर बजार पु¥याइन्छ ।’ मेवाको सिजन सुरू भएकाले दसैँदेखि तिहार, छठ र हिउँदसम्म उत्पादन बजारमा पठाउन सकिने उनले बताए ।


नेपालमा मेवा गर्मी सिजनमा ३० लाख र जाडोमा २० लाख किलो दैनिक खपत हुने उनी बताउँछन् । ९९ प्रतिशत भारतबाट आउँछ । नेपालमा मेवाखेतीका लागि सिकाइएका तरिका गलत रहेको उनी बताउँछन् ।

अहिले उनको बारिभरि चिचिन्डा, घिरौँला, तिरही, लौका लटरम्म फलेका छन् । एक बिघा लहरे खेतीबाट उत्पादन लिने बेलासम्म साढे चार लाख लगानी लाग्छ । एकैपटक उनी १० वटा खेती लगाउँछन् बारीमा । उनका अनुसार लगाएकामध्ये दुईवटा सफल हुन्न । चारवटाले भाउ पाउँछन् भने चारवटाले पाउँदैनन् । भाउ पाउने चारमध्ये दुईवटाले बढी भाउ पाउँछन् । यसैको नाफाले अन्य खर्च बेहोर्ने गर्छन्, उनी ।

गत वर्ष लकडाउनमा तरकारी निकै फाले उनले । उनी भन्छन्, ‘नबिकेपछि फाल्ने नै हो । पीर मानेर कहाँ पुग्छ र ? धेरै तरकारी लगाएपछि घाटा हुँदैन ।’ तरकारी रोप्नुअघि बिक्दैन कि, फाल्न पर्छ कि, भाउ पाउन्न कि भनेर डराउन नै हुन्न भन्छन् उनी ।


भूषालले अघिल्लो वर्ष दुई करोडको तरकारी बेचे । न्यूनतम तरकारी बेच्दा पनि वर्षमा एक करोड ५० लाखको तरकारी बेच्ने गरेको उनले सुनाए । कारोबारको २५ प्रतिशत नाफा रहन्छ । ३० प्रतिशत कामदारमा, बाँकी बीउ, मल, सिंचाइ, कीटनाशक औषधिलगायतमा खर्च हुन्छ । उनको फार्ममा झन्डै ४० जना कामदारले दैनिक काम गर्दै आएका छन् । २० जना सिजनअनुसार काम गर्ने ज्यालादारी कामदार छन् । मासिक ८० प्रतिशत (झन्डै ४ लाख) तलबमा खर्च हुने गरेको भूषाल बताउँछन् ।

अर्घाखाची, सन्धिखर्कका गणेश भूषालले वकिल, पत्रकार हुँदै अहिले व्यावसायिक तरकारीखेतीमा होमिएका हुन् । कृषिमा सम्भावना छ भनेर उनी २०६० सालमा चितवन झरे । चनौलीमा ४ बिगाहा जमिन भाडामा लिएर उनले खेती सुरू गरेका थिए ।

भूषाल केही समयअघि सरकारले प्रदान गर्ने जनसेवा श्री पाँचौँ पदकबाट समेत सम्मानित भएका छन् । माटोसँगको मेहनत र सम्बन्धलाई सरकारले कदर गरेकोमा खुसी लागेको उनको भनाइ छ । उनी भन्छन्, ‘पदक तथा सम्मानले कृषिमा अझ बढी मेहनत गर्न हौसला मिल्ने रहेछ ।’ निरन्तर कर्म गरिरहने, सरकारी अनुदान र सहयोग आशा नगर्ने उनी नमुना किसान हुन् । नेपाली किसानका लागि उनी उदाहरणीय छन् ।

अगुवा किसान गणेशले आजसम्म सरकारी अनुदान लिएका छैनन् । उनी भन्छन्, ‘अनुदान लिने प्रक्रिया निकै झन्झटिलो छ । एक लाखको अनुदान लिन दुई महिना सरकारी कार्यालय धाउनुपर्छ । २०/२५ हजारको त कर्मचारीलाई खाजा खुवाउनुपर्छ । भेटैपिच्छे अनुग्रहित हुनुपर्छ, ज्यू ज्यू गर्नुपर्छ जुन मेरो स्वभावले दिँदैन ।’ जागिर खाएर जीविका चलाउने काम उनलाई सानैदेखि मन पर्दैन । उनी भन्छन्, ‘अनुदान पहुँचवालाको जीवनवृत्तिको साधन बनेको छ, जथाभावी दिइने अनुदान रोक्नुपर्छ ।’

कृषि उत्पादन बढाउन वातावरण बनाउनुपर्छ, उन्नत जातको बीउ, उत्पादित सामानको सहज बजारीकरण र उचित मूल्य, सिंचाइ, आधुनिक कृषि साम्रगी, प्राविधिक जनशक्तिका लागि सरकारले लगानी गर्नुपर्छ भन्छन्, उनी । सरकारी लापर्बाहीले गर्दा किसानको बारीबाट २० रूपैयाँ किलोमा उठाएको तरकारी उपभोक्ताको भान्सामा पुग्दा १५० पर्ने हुनाले प्रक्रियामै कमजोरी रहेको उनले बताए ।

बजार अनुगमन र निरीक्षणको अभावमा बिचौलियाले मोटो रकम नाफा लिन्छन्, यस्तो बेथिति नहटाएसम्म सुधार हुँदैन भन्ने उनी कृषिमा सरकारले ध्यान दिन खोजे पनि प्रभावकारी कदम चाल्न नसकेको बताउँछन् । उनी भन्छन्, ‘किसानले फलाएका सामान नेपाली बजारमा बेच्ने वातावरण बनाइदिए पुग्छ ।’

अन्य समाचारहरु