खिल्जी र असुरकोटका ५४ वटा पसलमा अनुगमन, प्राय बिना अनुमती संचालन

खिल्जी र असुरकोटका ५४  वटा पसलमा अनुगमन, प्राय बिना अनुमती संचालन


लक्ष्मण घिमिरे 

खिल्जी, अर्घाखाँची । चाडपर्वमा हुन सक्ने सम्भावीत ठगी र महंगाईलाई मध्यनजर गर्दै भुमिकास्थान नगरपालिकाले बजार अनुगमनलाई कडाईका साथ अँगाडी बढाएको छ ।


चाडबाड नजिकिँदै गर्दा बजार अनुगमन तीव्र पारिएको भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापाले जानकारी दिए। आज नगरपालिकाको वडा नम्बर-६ खिल्जीमा कमिरेठाँटी, खमारीबास, बेलबोट, धारिचौर तथा वडा नम्बर-५ असुरकोटमा उदयठाँटी, पौवा, ठाँटीचौर लगायतका बजारमा अनुगमन गरिएको हो। ५४ वटा पसलमा अनुगमन गरिएकोमा ४४ पसलहरुलाई लिखित तथा १० वटा पसललाई मौखिक सुझाव दिईएको बजार अनुगमन समितीका संयोजक शाखा अधिकृत शंकर अधिकारीले जानकारी दिए ।


अनुगमनका क्रममा २० किलो सुजी, पाउरोटी, चाउमिन, दाल लगायतका अखाद्य तथा लेभलिङ नगरिएका सामाग्री बरामद गरी नष्ट गरिएको छ । मुल्यसुची तथा होडिङ बोर्ड नराखिएका, दर्ता बिना सञ्चालनमा आएका र नविकरण नगरेका पसलहरुलाई ३५ दिन भित्र नियम पुरा गर्न निर्देशन समेत दिईएको छ ।


बजार अनुगमन समितीका संयोजक शाखा अधिकृत शंकर अधिकारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी पोमनारायण कुँवर, चेम्बर अफ कमर्सका नगर सचिव केशव थापा, उपभोक्ता हित संरक्षण समितीका सकुन्तला थापा, प्रहरीचौकी खिल्जीका प्रहरी नायब निरिक्षक सुर्यप्रसाद पन्थी, पत्रकार लक्ष्मण घिमिरे लगायतको टोलीले अनुगमन गरेको हो ।


बजारमा चाडबाडका बेला हुने कालोबजारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाले आफै बजार क्षेत्रमा अनुगमनको कार्यलाई तिव्रता दिएको हो । कारोनाको जोखिम पनी छ, चाडबाड पनी नजिकै आयो, नगर उपप्रमुख खडानन्द बेल्वासेले भने,‘मौका छोपेर कालोबजारी हुने सम्भावना हुन्छ, हामी यो विषयमा सचेत छौं ।’ कडाईका साथ बजार अनुगमन गरिने उनले जानकारी दिए ।

अन्य समाचारहरु