कास्की प्रशासनले नि:शुल्क खाना खुवाउने विवेकशील साझाको अभियानलाई रोक्यो

कास्की प्रशासनले नि:शुल्क खाना खुवाउने विवेकशील साझाको अभियानलाई रोक्यो

युवराज श्रेष्ठ सेतोपाटी

नवलपुरका कोभिड-१९ संक्रमित महिला ४ दिनयता पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा छिन्। उनलाई कुर्न आएका श्रीमानसँग २ जना बच्चा पनि सँगै छन्। घरमा बच्चा हेर्ने मान्छे नभएका कारण श्रीमतीलाई कुर्न आउँदा बच्चा पनि साथै ल्याएको ती पुरूषले बताएका छन्। 

कोरोना संक्रमित श्रीमती, आफू र २ जना बच्चासँगै अस्पताल बस्दा उनलाई खानाको समस्या परेको छ। बाहिर रेष्टुराँ बन्द छन्, भित्र क्यान्टिन जान पनि संक्रमितको कुरुवालाई सजिलो छैन। त्यसमाथि ४ जनाका लागि खाना खान पैसाको अभाव। 

यस्तै, तनहुँबाट आएका वृद्ध बुवाको उपचारमा २ जना दाजुभाइ अस्पताल बसेका छन्। 

बुवाको उपचारमा बसेका यी दाजुभाइलाई घरबाट खाना ल्याएर खान सम्भव छैन। कहिले पाउरोटी त कहिले के खाएर छाक टारेको उनीहरूले बताए।  

यसअघि आइसोलेसनमा आउने नि:शुल्क खाना बन्द भएपछि भने उनीहरूलाई पनि खाना खान समस्या भएको बताएका छन्।

पोखरा– ३२ रुपातालकी एक महिलाले कोभिड-१९ संक्रमित भएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा २२ दिन बिताइन्। 

अस्पतालबाहिरका सबै रेष्टुराँ कोभिड रोकथामका लागि भएको लकडाउनका कारण बन्द थियो, अस्पतालको क्यान्टिन जान पनि सकस। 

उनको कुरूवा बसेका छोरालाई खाना खोज्नकै चिन्ता थियो। कहिले समोसा त कहिले पाउरोटी खाएर दिन बिताए। आइसोलेसनमा रहेकी आमाको उपचार चिन्ता एकातिर थियो भने अर्कोतिर बिरामी आमा र आफूले खाने खानाको चिन्ता। 

नजिक घर हुनेले घरबाटै खानाको व्यवस्था मिलाए। गण्डकी प्रदेशकै सबभन्दा ठूलो सरकारी अस्पताल भएकाले पनि प्रदेशका अधिकांश जिल्लाबाट गम्भीर प्रकृतिका संक्रमित यही अस्पतालमा रिफर हुन्थे। रिफर भएर अन्य जिल्लाबाट आउनेलाई खाना घरबाट ल्याउन सम्भव थिएन। 

‘हामीलाई एकदम पीडा थियो, खाना खान पनि नपाउने अवस्था थियो’, ती संक्रमित महिलाका छोराले भने, ‘विवेकशील साझा पार्टीले हामीलाई खाना ल्याइदिएर धेरै राम्रो काम गर्नुभयो।’ 

उनका अनुसार कतिपय संक्रमित र तिनका कुरूवासँग खाना किन्ने पैसा पनि हुन्थेन। आइसोलेसनमा बसेका मानिस बाहिर निस्केर हिँड्न पनि मिलेन। 

आइसोलेसनमा बस्दा पनि खानाकै चिन्ता भएका बेला विवेकशील साझा पार्टीको पोखरा महानगर कमिटीले अस्पतालका संक्रमित र कुरूवालाई खाना खुवाउन अनुमति माग्यो, अस्पताल प्रशासनले समस्या बुझेर तत्काल अनुमति दियो।

अस्पतालबाट अनुमति लिएर पार्टीले अस्पतालमा रहेका झण्डै २०० कोरोना संक्रमित र तिनका कुरूवालाई खाना खुवाउने बन्दोबस्त मिलायो। 

लेकसाइडस्थित गडफादर पिज्जेरियामा खाना बनाउने र साझा पार्टीका युवाले दिनहुँ आइसोलेसन पुगेर खाना खुवाउन थाले। 

पार्टीका युवाले यसरी खाना लैजाँदा संक्रमितका उपचारमा खटेका स्वाथ्यकर्मीले समेत त्यही खाना खान्थे। बचेको खाना सडकमा रहेका मानिसलाई दिन्थे।

‘हामीले कुनै फाइदा हेरेर संक्रमितलाई खाना खुवाएका थिएनौं’, विवेकशील साझा पार्टी पोखरा महानगर कमिटीका संयोजक अजय श्रेष्ठले भने, ‘हामीले कसरी संक्रमितलाई सहयोग गर्न सक्छौं भनेर लाग्दा खाना खुवाउने निर्णय गरेका हौं।’

पार्टीले पोखरामा लकडाउन भएपछि नै कोभिड रेस्पोन्स टिम गठन गरेको थियो। 

उक्त टिमले अस्पताल पुगेर हेर्दा सरकारी अस्पतालका बिरामी र कुरूवालाई खाना खानै समस्या भएको देखेर उक्त निर्णय गरेको श्रेष्ठले बताए। 

संक्रमितलाई खाना खुवाउन पार्टीका १५ जना मिलेर २ हजारदेखि ७ हजार रुपैयाँसम्म उठाए। यसरी उठाउँदा ५० हजार रुपैयाँ तत्काल जम्मा भयो। त्यही रकमबाट खाद्यान्न खरिद गरेर गडफादर पिज्जेरियामा पकाउन दिएका थिए। गडफादर पिज्जेरियाले नि:शुल्क खाना बनाइदिएको पार्टी पोखराकी सहसंयोजक विपना कुँवरले बताइन्। 

खाना खुवाउने अभियान थालेपछि अरू दलका नेता, कार्यकर्ता र पोखराका विभिन्न व्यवसायीले उनीहरूलाई सहयोग गर्न थाले। 

पार्टीको नि:शुल्क तातो भात कार्यक्रम मन पराएर बेलायतबाट सम्झना गुरूङले सबभन्दा धेरै ४० हजार ८७५ रुपैयाँ पठाइन्। 

नि:शुल्क खाना खुवाउने उनीहरूको अभियानलाई पोखराकै ‘सोलिडारिटी फार्मर’ले नि:शुल्क तरकारी उपलब्ध गराउन थाल्यो। 
पोखरामै फलेको ताजा तरकारी र अन्य व्यक्तिले पनि सहयोग गरेपछि उनीहरूले लकडाउनभरि खाना खुवाउने मनसाय बनाए। 
संक्रमितलाई खाना खुवाउँदा उनीहरूले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेका थिए। खाना बनाउँदादेखि खुवाउन लैजाँदासम्म सबै मापदण्ड पालना गरेको पार्टीका केन्द्रीय सदस्य अर्जुन खनालले बताए। 

आइसोलेसन राखिएको ठाउँमा रहेको चौतारामा लगेर उनीहरूले प्याकिङ गरेको खाना लगेर राखिदिन्थे, संक्रमितका कुरूवाले आफू र आफ्ना बिरामीलाई आवश्यक खाना लगिदिन्थे। खाना लैजाँदा पार्टी पोखराका सह–संयोजक कुँवरले पिपिई लगाएर जान्थिन्। 

संक्रमितलाई खाना खुवाउन उनीहरूले जिल्ला प्रशासन कार्यालयसँग पनि अनुमति मागेका थिए। लिखित रूपमा अनुमति माग्दा प्रशासन सुरूमा सकारात्मक भएर नै खाना अभियान चलाएको केन्द्रीय सदस्य खनाल बताउँछन्। 

जिल्ला प्रशासन कार्यालय कास्कीले गत आइतबार सूचना जारी गर्दै खाना खुवाउने काम बन्द गर्न निर्देशन दियो, त्यसपछि संक्रमित र तिनका कुरूवाले पाएको नि:शुल्क खाना रोकिएको छ। 

सरकारी अस्पतालमा उपचाररत संक्रमित र तिनका कुरूवालाई खाना खुवाउने मानवीय अभियानलाई प्रशासनले अंकुश लगाएको भन्दै पार्टीले विरोध जनाएको छ। 

पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले पार्टीको अभियान देखेर नै प्रशासनले अनुदार व्यवहार गरेको बताए। 

‘यो नालायक सरकार अरू कसैले जनताको सेवा गर्छ भने डराउँछ’, भण्डारीले भने, ‘हामीले संक्रमितलाई खाना खुवाउँदा सबैले सहयोग गरे, यही देखेर सरकारी पार्टीकै दबाबमा हाम्रो अभियान रोकियो।’ 

प्रशासनसँग अझै पनि अनुमति मागिरहेको भन्दै उनले अनुमति पाएपछि फेरि संक्रमितलाई खाना खुवाउने अभियान सुचारू हुने बताए। 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिले ८० जना कोरोना संक्रमितले उपचार गराइरहेका छन्। 

उनीहरूको कुरूवा समेत गरेर अस्पतालको आइसोलेसनमा झण्डै २ सय जना रहेको अस्पताल प्रशासनले जनाएको छ। 

संक्रमितले पोसिलो खाना खान नपाउँदा बिरामी झनै गलेको एक कुरूवाले बताए। 

‘बाहिर होटल, रेष्टुराँ खुलेको छैन, केहीसँग त पैसा पनि नभएको कुरा गर्छन्’, ती कुरूवाले भने, ‘कोरोना लागेको उपचार गराउन टाढाबाट आएका व्यक्तिलाई खाना खुवाउन पनि समस्या छ।’ सेतोपाटीमा समाचार छ । 

अन्य समाचारहरु