अन्तरिक्षयान पर्सिभिअरेन्स सात महिनापछि मङ्गल ग्रहको सतहमा सफल अवतरण

अन्तरिक्षयान पर्सिभिअरेन्स सात महिनापछि मङ्गल ग्रहको सतहमा सफल अवतरण

अमेरिकी अन्तरिक्षयान पर्सिभिअरेन्स पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको छ ।

नेपाली समयानुसार आज बिहान २ बजेर ४० मिनेटमा पर्सिभिअरेन्स रोभर नामक सो अन्तरिक्षयान मंगल ग्रहको सतहमा अवतरण गरेको हो ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको क्यालिफोर्नियास्थित नियन्त्रण कक्षमा अन्तरिक्ष यानको सफल अवतरणसँगै वैज्ञानिकहरूले हर्षोल्लास मनाएका छन् । वैज्ञानिकहरु मिसन सफल भएकोमा खुसीले चिच्याएका थिए ।

नासाले मंगलग्रहमा अन्तरिक्षयान अवतरण गरेपछि खिचेका केही तस्वीरहरु पनि सार्वजनिक गरिसकेको छ । यो सन् १९७० को दशकको भाइकीङ मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो ।

एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ । छ वटा पाङ्ग्रा भएको सो रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहमा पुगेको हो ।

मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो । अहिलेसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन् । ती सबै अमेरिकी अभियान हुन् ।- एजेन्सी   

अन्य समाचारहरु