मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फुट पार्ने चाहना दिवास्वप्न मात्रै : गोविन्द थापा

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा फुट पार्ने चाहना दिवास्वप्न मात्रै : गोविन्द  थापा


अर्घाखाँचीडट्कम संवाददाता  

अहमदावाद (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले फुटपरस्त तत्वहरूलाई निस्तेज पार्दै संगठन अघि बढिरहेको बताउनुभएको छ । पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत अहमदावादको इन्डस्ट्रियल एरिया बटुवामा भएको भेलालाई सम्बोधन गर्दै नेता थापाले मूल प्रवाहमा फुट पार्ने अराजकहरूको सपना पुरा नहुने बताउनु भयो ।


थापाले मूल प्रवाहको संगठनात्मक प्रणाली र अनुशासनको बारे नै अस्पष्ट नीति अपनाउने र भारतस्थित श्रमजीवीहरुलाई भ्रमित पार्दै हिँडेका अराजक तत्वहरुले संगठनमा फुट पार्ने कोशिस गरेता पनि उनीहरुको त्यो चाहना पुरा नहुने बताउनु भयो ।

‘भारतका विभिन्न स्थानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमाका कार्यकर्ताहरू भारतव्यापी रुपमा संगठन विस्तार अभियानमा खटिएका छन्’ थापाले भन्नुभयो, ‘जनवादी केन्द्रियताको बारेमा समेत गैरमार्क्सवादी–लेनिनवादी सोंचाई राख्ने कथित क्रान्तिकारीहरुको भ्रमलाई निस्तेज पार्दैछौं ।’

थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता कार्यकर्ता आँधिबेहरीको रुपमा संगठन निर्माण अभियानमा खटिएका र श्रमजिवी नेपालीरू मूल प्रवाहमा संगठित भइरहेको बताउनु भयो । विभिन्न प्रकारले संगठनमाथि हमला गर्ने कोशिस गर्ने सम्पूर्ण तत्वहरुलाई परास्त गर्दै मूल प्रवाहका प्रतिवद्ध कार्यकर्ताहरू पश्चिम भारताका कैयौं नयाँ–नयाँ स्थानहरुमा संगठन निर्माणमा कार्यमा खटिएको थापाले बताउनु भयो ।

‘अराजक तथा अनुशासनविहीन गतिविधिमा संलग्न, संगठनको साधारण सदस्य समेत नरहेका व्यक्तिहरूले संगठनको नाम र झण्डाको समेत दुरुपयोग गर्न खोजेका छन् । यस्ता तत्वलाई नांगेझार पारिन्छ’ उहाँले भन्नुभयो ।

मनोज लामाको सञ्चालन तथा लक्ष्मी सोनीको अध्यक्षता र राम बहादुर खड्काको स्वागत मन्तव्यबाट अगाडि बढेको सो भेलामा क्षेत्रीय समितिका सदस्य धमेन्द्र लामाले पनि आतिथ्यता गर्नुभएको थियो । नरोडा एरिया समितिका दिलिप सोनी, अहमदावाद महिला विभागकी टिका सोनीले पनि शुभकामना दिनुभएको थियो ।

भेलाले लक्षीराम सोनीको अध्यक्षतामा १२ पूर्ण, २ वैकल्पिक र १ सल्लाहकार गरी १५ सदस्यीय बटुवा नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्ष– राम बहादुर खड्का, सचिव– मनोज लामा, सहसचिव– सुनिल सोनी र कोषाध्यक्ष– इन्द्र सोनी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यमाः अतुल सोनी, अमर सोनी, गणेश सोनी, कमल बुढा, पूर्ण सोनी, इन्द्र बहादुर सोनी, गोविन्द महत, वैकल्पिक सदस्यमाः जगदिश सोनी र मान बहादुर गोर्खा रहनुभएको छ । भेलाले संजय सोनीलाई सल्लाहकार चयन गरेको छ ।

नयाँ समितिलाई क्षेत्रीय समितिका सदस्य धर्मेन्द्र लामाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

अन्य समाचारहरु