सिन्धुपाल्चोकमा विद्यालयहरु बन्द नहुने, जिल्लाभर पठनपाठन जारी

सिन्धुपाल्चोकमा विद्यालयहरु बन्द नहुने, जिल्लाभर पठनपाठन जारी


काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेपनि सिन्धुपाल्चोकका विद्यालय भने बन्द नहुने भएका छन् ।

सोमबार सिन्धुपाल्चोकको चौतारामा कोरोना संकट व्यवस्थापन केन्द्र र जिल्ला समन्वय समितिले आयोजना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन समन्वय बैठकले सिन्धुपाल्चोकमा रहेका विद्यालयहरु वैशाख मसान्तसम्म खुल्लै राख्ने निर्णय गरेको हो ।

बैठकले गरेको निर्णयमा भनिएको छ, ‘२०७८ वैशाख मसान्तसम्म सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरी तत्पश्चात विद्यालय बन्द गर्ने ।

उक्त बैठकमा सभामुख अग्नि सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।’

सभामुख सापकोटा समेत उपस्थित रहेको बैठकमा यस्तो निर्णय भएपछि चौतर्फी आलोचना भएको छ ।

कोरोना १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वैशाख १२ गतेको निर्देशक समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालय भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने निर्णय गरेको थियो । साथै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले गरेको निर्णय सभामुख सापकोटाले आफ्नै जिल्लामा अवज्ञा गरेको भन्दै सापकोटाको आलोचना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख सापकोटाको सम्बन्ध चिसिएको बेला गरिएकाे यस्तो निर्णयले सभामुखले सरकारको निर्णय नमानेको र सरकारलाई असहयोग गरेको टिकाटिप्पणी पनि हुन थालेको छ । इमेजखबरमा समाचार छ । 

अन्य समाचारहरु