म आमा भएँ

सरु सुधा 
तम्घास ,गुल्मी ।

मलाई गाग्री माथी बोकेर 
तिमीले कतिवटा ममताका 
खुड्किला चढ्थ्यौ?
मलाई झलुङ्गोमा हल्लाउँदा तिमीले
कतिपटक बाध्यताका झट्का महसुस गर्थ्यौ?
मैले कहिल्यै गनिनँ आमा!!

तिमी शौचालय जाँदा
मलाई किन मझेरीमा थुन्थ्यौ ?
मलाई सुइ लाउदाको रातभर 
किन रुन्थ्यौ?
मैले केही बुझिनँ आमा!!

मलाई पटुकीको खान्की खुवाउँदै
तिमीले भोक पिएर कसरी निदाएथ्यौ?
मलाई सारी बिछ्याइदिएर 
तिमीलाई गुन्द्रीको बीट कत्ति बिझाएथ्यो?
मैले महसुस गरिनँ आमा!!

मैले सिरानीमुनि बाट झिकेको पैसोले 
तिमीले कुन चाहिँको बाकीँ चुक्ता 
गर्ने सोचेकी थियौ ?
मैले ज्यामेट्री बक्स किन्ने 
पैसा र तिम्रो भाँडा मझाइको वजनमा कुन चाहिँले झटार्‍यो ?
मलाई थाहा भएन आमा!!

त्यो खैरी बाख्रीको गोठाले पैसाले 
तिमीले कतिवटा रात निदाएर बितायौ ?
तिमीले सुनाउने त्यो 'आफ्नै मनको बिरहले छुरा धसियो'भन्ने गीतले के भन्न खोज्थ्यो?
म अनभिज्ञ थिएँ आमा!!

मलाई रातो मासी पर्दा 
तिमीले कालो बाख्राको दूध 
कहाँ पुगेर ल्यायौ?
म रातभर रोइदिँदा
कतिवटा अन्धविश्वासलाई
अंकमाल गर्‍यौ?
मैले थाहा पाइन आमा!!

मैले सुकारोटी बेल्न सिक्दाको दिन
किन खुसी भएकी थियौ?
मेरो पहिलो मासिक धर्मका 
तिमी किन रोएकी थियौ?
मैले सोध्न जानिनँ आमा!!

तर अहिले 
नसोधेरै पनि यी सबै प्रश्नको 
उत्तर छ मसँग!
म ठुली भएँ आमा!!
म 'आमा' भएँ आमा!!