अर्घाखाँचीमा नागरिकता र राहदानी लिने बढे, राती अवेरासम्म भिड | आज एकै दिन २ सय जनाले नागरिकता लिए

अर्घाखाँचीमा नागरिकता र राहदानी लिने बढे, राती अवेरासम्म भिड | आज एकै दिन २ सय जनाले नागरिकता  लिए


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दसैं र तिहारबीच अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा  नागरिकता र राहदानी लिनेको संख्या बढेको छ।


दसैं र तिहार मनाउन घर आएको मौका पारेर जिल्ला आएका सेवाग्राहीका कारण जिल्ला प्रशासन कार्यालयमा नागरिकता र राहदानी बनाउनेको संख्या बढेको हो। यतिबेला राती अवेरासम्म नागरिकता र राहदानी बनाउनेको भिड लागेको देखिन्छ ।   


सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालका अनुसार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट आज आईतबार विहान १० बजेदेखि बेलुका ८ बजेसम्म १ सय ९९ जनाले नागरिकता  लिएका छन् । सामान्य समयमा औषतमा ३० देखि ३५ वटा नागरिकता वितरण हुने गरेकोमा विगत केही वर्षयता एकै दिनमा यति धेरै नागरिकता वितरण भएको सायद पहिलोपटक हो ।  

अधिकांश समय सहरमा बसोबास गर्ने नागरिकले घर आएको बेला नागरिकता तथा राहदानीको काम गर्ने भएकाले प्रशासनमा भिडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए। 


साथै नागरिकता र राहदानी लिनेको संख्या बढनुको कारण जिल्ला बाहिर, भारत र विदेशमा वस्नेहरू दशैको समयमा घरमा आएको मौकामा नागरिकता बनाउन आउनु, गत वर्षको दशैमा कोरोनाको डरले कम व्यक्तिहरू गाउँमा आएका तर यसपाली धेरै व्यक्तिहरू दशै मनाउन गाउँ आएका, केही समय अगाडि पटक पटक भएका लकडाउनले सेवाग्राहीले चाहेको समयमा कार्यालयबाट सेवा लिन नपाउनु र अमेरिकाले डिभी खुलाउनु तथा नागरिकता बनाएर पासपोर्ट बनाउने धेरैको रहर भएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनालको भनाई छ ।       


तस्बिर: सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाल तथा बिष्णु खनाल 

अन्य समाचारहरु