भारतमा कोरोना संक्रमितको संख्यामा कमी आयो, खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना

भारतमा कोरोना संक्रमितको संख्यामा कमी आयो, खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना


एजेन्सी

भारतमा  छैटौं दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा मात्र ३ लाख २३ हजार १ सय ४४ जना नयाँ संक्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा सोमबार भारतमा संक्रमितको संख्या थोरै घटेको छ । यसअघि आइतबार भारतमा अहिलेसम्मकै बढी ३ लाख ५२ हजार ९ सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पछिल्लो एक दिनमा २ हजार ७ सय ७१ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमणका कारण मृत्यु हुने १ लाख ९८ हजार ८ सय ९४ पुगेको छ । भारतमा अहिलेसम्म १ करोड ७६ लाख ३६ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ भने करिब १ करोड ४५ लाख संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख ८२ हजारभन्दा बढी छ । भारतमा पछिल्लो २४ घण्टामा १६ लाख ५८ हजार ७ सय नमुना परीक्षण भएको थियो ।


भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ ।

महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ७१ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय २४ जनाको मृत्यु भएको छ । त्यस्तै राजधानी दिल्लीमा दिल्लीमा पछिल्लो २४ घण्टामा २२ हजार ५५ जनामा संक्रमण पुष्टि हुनुका साथै ३ सय ८० जनाको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालसँग सीमा जोडिएका भारतका राज्यहरूमा पनि संक्रमण बढिरहेको छ । पछिल्लो २४ घण्टामा उत्तर प्रदेशमा २६ हजार ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ भने २ सय ४९ जनाको मृत्यु भएको छ । त्यस्तै पश्चिम बंगालमा ९ हजार ७ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ भने ६८ जनाको मृत्यु भएको छ । त्यस्तै नेपालसँग सीमा जोडिएको बिहारमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय २८ जनामा संक्रमण पुष्टि भएको छ भने ६७ जनाको मृत्यु भएको छ ।

भारतमा आइतबारसम्ममा १४ करोड ५२ लाख ७१ हजारभन्दा बढीले खोप लगाएका छन् ।आगामी १ मेदेखि अठार वर्षमाथिका सबै उमेर समूहका लागि खुला गरिएको छ । भारतमा १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको हो । गत १ अप्रिलदेखि ४५ वर्षमाथि उमेरका लागि खोप उपलब्ध हुँदै आएको थियो । तर, कोरोना महामारी नियन्त्रणका लागि खोप अभियान पर्याप्त नभएको भन्दै मोदी सरकारको आलोचना भएपछि उमेर समूह घटाइएको हो । कान्तिपुरमा समाचार छ । 

अन्य समाचारहरु