ठिक समयमा

ठिक समयमा

डा.अम्बादत्त पन्त


अलार्म राखेको थिइनँ
कसैसँग ब्युझाई दिनु पनि भनेको थिइनँ
आँखा खुल्दा चिसो-चिसो हावा चलिरहेको थियो
सूर्योदयभन्दा केही पहिलाको समय थियो
अब गज्जबसँग दिनको शुरूवात गर्छु 
मनमा लागेका किताब पढछु 
बाँकी रहेका काम सक्छु
केही नयाँ कामको थालनी गर्छु
शुभ दिनको सपना देख्दै 
लाग्छ, “ठिक समयमा उठेछु “

आफू जन्मेको हुर्केको समय सम्झिन्छु
चिठी लेखेर पठाएका दिन सम्झ्न्छु
फोन गर्न घन्टौँ हिँडेका दिन सम्झन्छु
अनि वर्तमानसँग तुलना गर्छु
अहिलेको टेक्नोलोजीसँग रमाउँदै 
मनमा फेरि त्यही आउँछ 
“ठिक समयमा जन्मिएछु”

इनबक्सका म्यासेज पढछु 
लाईक र कमेन्ट पनि हेर्छु
साथीभाइ र ईष्टमित्रलाई सम्झन्छु
माया र सहयोग सम्झन्छु
अझ यस युगका युगान्तकारी मानिसहरू सम्झिन्छु
अनि असल मानिसहरूको युगमा
आफूलाई पनि पाएर 
प्रकृतिप्रति कृतज्ञ हुन्छु 
मनमा फेरी त्यही आउँछ
“ठिक युगमा जन्मिएछु”

अनि वरिपरि हेर्छु
सोचेझैँ अवस्था नभए पनि
भएको जतिलाई राम्रै मान्नु पर्ने विचार राख्छु
किनकि, योभन्दा नराम्रो भा त छैन नि
विगतलाई सरापेर पनि के फाईदा ?
कामै नगरी सपना पनि के देख्नु ?
निन्द्राबाट उठेर मात्र भएन
अझ फेरि उठनु पर्ने आभास गर्छु
बाँकी समय कति छ? त्यसको प्रवाह नगरी
साँझसम्म सके जति गर्नुछ
मात्राको मापन नगरीकन 
समाजलाई फिर्ता पनि दिनुछ
यस्ता यस्तै विचारको आगमनले
नयाँ जोस र जाँगरसहित
केही गर्ने अठोट र सपनाकासाथ
अलार्मविना पनि
आफ्नै 'जैविक घडी' का आधारमा
फेरि पनि स्वत:स्फूर्त रूपमा
 ठीक समयमा ब्युँझिदै छु।          
***********************                                                                                        (फेसबुकबाट साभार)