प्रदेश २ मा कोरोना विरुद्धको खोप लगाउन शुरु, कानून मन्त्रीले लिए पहिलो खोप

प्रदेश २ मा कोरोना विरुद्धको खोप लगाउन शुरु, कानून मन्त्रीले लिए पहिलो खोप

जनकपुरधाम – प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना विरुद्धको खोप दिने अभियान सुरु भएको छ।

बुधबार प्रादेशिक अस्पतालमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले खोप लगाएसँगै यहाँ अभियानको सुरु भएको हो । मन्त्री यादव कोरोना भाइरसको संक्रमण मुक्त भएका व्यक्ति हुन् ।

कानून मन्त्री यादवपछि प्रदेशिक अस्पतालकी नर्स इन्चार्ज सन्ध्या दास र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले कोरोना विरुद्धको खोप लगाए । स्वास्थ्यकर्मी, सरसफाईकर्मीहरुलाई प्राथमिकतामा राखेर खोप अभियान सुरु भएको हो ।

भ्याक्सिन लिएपछि मन्त्री यादवले भ्याक्सिन लिनुपूर्व र लिएपछि शरीरमा कुनै किसिमको फरक नपरेको बताए । उनले भ्याक्सिनविरुद्धको विभिन्न अफवाहरु रहेकोमा त्यसलाई चिर्न आफूले पहिले भ्याक्सिन लिएको बताए ।

त्यस्तै प्रदेश २ को वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा मुख्यमन्त्री लालबाबु राउत र सप्तरीको राजविराजमा सामाजिक विकासमन्त्री नवल किशोर साह गएका छन् ।

उनले भ्याक्सिन ल्याउने जिम्मा संघ सरकारको रहेकोले यदि संघ सरकार त्यसबाट पञ्छिए प्रदेशवासीको लागि प्रदेश सरकार भ्याक्सिनको व्यवस्था गर्ने बताए ।

मन्त्री यादवले खुल्ला सीमा, जनघनत्व बढी रहेकोले उच्च जोखिममा रहेको यस प्रदेशमा कोरोना भाइरसको रोकथाममा स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, संचारकर्मी सबैको महत्वपूर्ण भूमिका रहेको बताए ।

प्रत्येक जिल्लाबाट पनि खोप दिइने व्यवस्था मिलाउने कार्यभइरहेको र यस प्रदेशको ११ स्थानबाट खोप दिइने व्यवस्था गरिने मन्त्री यादवले बताए ।

त्यस्तै शुभारम्भ कार्यक्रममा राष्ट्रिय खोप सलाहकार समितिका सदस्य डा. जामुन सिंहले यो खोप सबै भन्दा उत्कृष्ट रहेको बताए । डब्लुचएओले यस भ्याक्सिनलाई आपतकालीन रुपमा प्रयोग गर्न सबैभन्दा पहिले मान्यता दिएको र यो भ्याक्सिन बनाउने कम्पनी विश्वमा आवश्यक पर्ने ६० प्रतिशत खोपको आपूर्ति गर्ने गरेकोले यसमा विश्वास गर्न सबैसँग आग्रह गरे । १८ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई यो खोप अहिले नदिइने डा. सिंहले बताए । देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु