वीरगंज बजारमा चहलपहल शुरु, निषेधाज्ञा खुकुलो

वीरगंज बजारमा  चहलपहल शुरु, निषेधाज्ञा खुकुलो


वीरगंज । पर्सा जिल्लामा लगातार रुपमा कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आउनुको साथै सङ्क्रमितहरूको निको हुने सङ्ख्या समेत उल्लेख्य रुपमा बढेसँगै अहिले वीरगंज बजारमा चहलपहल शुरु हुन थालेको छ ।

जिल्ला प्रशासन कार्यालयले बढ्दै गरेको कोरोना संक्रमण नियन्त्रणमा लिन गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि जेठ ३० गतेसम्म थपिए पनि संक्रमण नियन्त्रणमा आए सँगै बजारमा चहलपहल बढेको छ ।

दैनिक उपभोग्य तथा खाद्यान्न, किरानाका पसलहरू सञ्चालनमा आएका छन् भने अन्य पसलहरू समेत खुल्न थालेपछि उपभोक्ताहरूको बजारमा चहलपहल बढेको हो ।

विगतमा निषेधाज्ञाको पालना गर्न सुरक्षाकर्मीले कडाई गरे पनि सङ्क्रमणको दर घट्दै गएपछि सुरक्षाकर्मीले समेत नागरिकको समस्या बुझेर दैनिकीलाई केही खुकुलो गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले बताउनुभयो ।
अहिले वीरगंज बजारमा पसलहरू प्रहरीको आँखा छलेर खुल्ने गरेको र बजारमा सर्वसाधारणको आवागमन समेत बढ्दै गएको छ ।
झन्डै १ महिनासम्म बन्द अवस्थामा रहेका पसलहरू आधा सर्टर मात्रै खोलेर भए पनि प्रहरीको आँखा छल्दै सामानको बिक्री वितरण गरिरहेका छन् ।

निषेधाज्ञालाई मुख्य बजार केन्द्रित गरिएको भन्दै घण्टाघर देखी आदर्श नगर सम्मका व्यवसायीहरूले बिरोध गरिरहेको अवस्थामा अहिले मुख्य बजार क्षेत्रमा समेत निषेधाज्ञा खुकुलो पारिएको छ । यता ग्रामीण क्षेत्रसँगै वीरगञ्जका विभिन्न नाकाहरूबाट पनि खुल्ला रुपमा रक्सौल गएर किनमेल गर्ने र आवतजावत गर्नेहरूको सङ्ख्या पनि बढेको छ ।

यसका साथै सङ्क्रमितको सङ्ख्यामा कमी आएपछि वीरगञ्ज महानगरपालिकाले असार १ गते देखी नगर क्षेत्रका विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।

थप १ जना सङ्क्रमितको मृत्यु, ५ जनामा संक्रमण पुष्टि

वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा आज बिहान १० बजे सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर ७ निवासी ५६ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदय नारायण सिंहले बताउनुभयो ।

जेठ ११ गते अस्पताल भर्ना भएका सङ्क्रमितको उच्च निमोनियाको कारण मृत्यु भएको सिंहले बताउनुभयो ।

यसैबिच बीरगंज स्थित नारायणी अस्पतालमा गरिएको पछिल्लो पीसीआर परीक्षणको क्रममा थप ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । ९६ जनाको पीसीआर परीक्षणको क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा ४ जना पुरुष र १ जना महिला रहेका छन् । संक्रमित मध्ये २ जना पर्सा जिल्लाको रहेका छन् भने बाराका २ जना, रौतहटको १ जनामा कोरोना संक्रमण पुष्टि भएको डाक्टर दासले बताउनुभयो ।

सङ्क्रमितको उमेर समूह ११ बर्ष देखी ५० बर्ष सम्म रहेको र सङ्क्रमितको सिटी भ्यालु २७ दशमलव ३ देखी ३२ दशमलव ८ सम्म रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले जानकारी दिनुभयो ।

अन्य समाचारहरु