फिल्मी शैलीमा सिन्दुर हाल्नेबेलामा बेहुली खोसिएपछि बेहुला घर बाहिरै

कपिलवस्तु – फिल्मी शैलीमा कपिलवस्तुको एक विवाहमण्डपबाट बेहुली खोसिएर खाली हात फर्केको रुद्रपुर-८ का एक बेहुलाले बेहुली नपाएपछि चार दिनसम्म बेहुलीको खोजीमा घरबाहिरै बस्नुपरेको छ ।

रुद्रपुर-८ का कुलबहादुर विश्वकर्मा  र कपिलवस्तु पत्थरदेइया-५ चौवाका मञ्जु सुनारबीच गत बुधबार विवाह हुँदै थियो, तर फिल्मी शैलीमा आएका उनका प्रेमी पत्थदेइया-४ अमलवा निवासी मधु गौतमले बेहुलीलाई सिन्दुर लगाउन लागेको बेला विश्वकर्मा परिवारलाई रोकेर खालीहात फिर्ता पठाएका थिए ।

विवाहका लागि लगनगाठो कसेपछि अर्कै भए पनि बेहुली भित्रयाउनै पर्ने परम्परागत मान्यताअनुसार बेहुली खोज्दै हिँडेको विक परिवारले बेहुली नपाएपछि घरदेखि टाढा बस्नु परेको स्थानीय अशोक हमालले बताए । "बेहुलीको खोजीमा लागेको विक परिवारले भनेजस्तो केटी नपाएको भन्दै घरमा आउन मानेका छैनन्"-उनले भने ।

कपिलवस्तुको पत्थरदेइया-५ चौवामा स्थायीरुपमा बस्दै आएका रामबहादुर सुनारकी छोरी मञ्जु र वरका रुपमा बोलाएर आएका रुपन्देहीको रुद्रपुर-८ का कुलबहादुर विकबीच बुधबार विवाह हुँदै थियो । जन्तीसहित बेहुली लिन आएको विक परिवारले बेहुली अर्कैले लगेपछि हेरेको हेरै हुनुपरेको थियो ।