काठमाडौं – भागबण्डा नमिल्दा रोकिएको विभिन्न संवैधानिक आयोगहरुमा शुक्रबार नियुक्तिको सिफारिस गरेको छ । संवैधानिक परिषदको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान, लोक सेवा, निर्वाचन आयोगको प्रमुखहरु र महालेखा परीक्षकको नियुक्तिको सिफारिस गरेको हो ।
संवैधानिक परिषदले अख्तियारमा पूर्व भूमिसुधार सचिव बाबुराम आचार्यलाई प्रमुखमा सिफारिस गरेको छ । सदस्यमा पूर्व डिआईजी हिमबहादुर गुरुङ, विश्वेश्वरमान श्रेष्ठ र दोर्णराज रेग्मी सिफारिस भएका छन् ।
यस्तै संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्व कानून सचिव उदय नेपाली श्रेष्ठलाई नियुक्तिको सिफारिस गरेको छ भने सदस्यमा पूर्व शिक्षा सविच रामस्वरुप सिन्हा सिफारिस भएका छन् ।
निर्वाचन आयोगमा वर्तमान आयुक्त निलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएको छ । निर्वाचन आयोगमा डा. भोला शाह र श्रीमती भूषण श्रेष्ठ सदस्य नियुक्त भए । यस्तै, संवैधानिक परिषदले महालेखा परीक्षकमा पूर्व अर्थ सचिव भानु आचार्यलाई नियुक्तिको सिफारिस गरेको छ ।
प्रमुख दलहरु माओवादी, कांग्रेस र एमालेबीच संवैधानिक आयोग प्रमुखहरुको नियुक्तिमा भागबण्डा नमिल्दा नियुक्तमा ढिलाइ भएको हो । संवैधानिक परिषदको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नहुँदा आयोग प्रमुखहरुको नियुक्ति हुन सकेको थिएन ।
संवैधानिक व्यवस्था अनुसार परिषद अध्यक्ष प्रधानमन्त्री रहन्छन् भने प्रधान न्यायाधीश, सभामुख, सरकारमा रहेका राजनीतिक दलका प्रतिनिधि, प्रमुख बिपक्षी दलका नेता सदस्य रहन्छन् ।



