माओवादी विद्यार्थी संगठनले शुल्क बढाउने निर्णयको विरोधमा स्कूल बन्द गराएको हो।
यो विवादको मारमा झण्डै ९ हजार स्कूलका करीब १५ लाख विद्यार्थीहरु परेका छन्।
आरोप
अनेरास्ववियू क्रान्तिकारीले निजी स्कूलहरुले पहिलेका सहमति संझौता उल्लंघन गरी एकलौटी रुपले शुल्क बढाएको आरोप लगाएको छ।
अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले शुल्क वृध्दिले विद्यार्थीहरुलाई चोट पुगेको बताए।
उनले भने, “महँगो शुल्क लिन्छु भन्ने स्कूलको कुराले विद्यार्थीहरुसित सीधै सरोकार राख्छ।”
उक्त निर्णय फिर्ता नगरिएसम्म बन्द जारी रहने अखिल क्रान्तिकारीले जनाएको छ।
तर निजी स्कूलको संगठनले शुल्क वृध्दिको निर्णय भइनसकेको बताएको छ।
निजी स्कूलहरुको एउटा संगठन प्याब्सनका अध्यक्ष राजेश खड्काले भने, “शुल्क वृध्दिको प्रस्ताव मात्र गरिएको हो निर्णय लिन जिल्ला समितिहरुलाई स्वतन्त्र छोडिएको छ।”
खड्काले आन्दोलनकारी विद्यार्थी युनियन उत्ताउलो रुपमा प्रकट भएको आरोप लगाउँदै वार्ताका लागि आफुहरु तयार भएको तर दबाबमा परी पछि हट्न नसक्ने बताए।
चिन्ता
तर न्यौपानेले शुल्क नघटाइएसम्म आफुहरु वार्तामा बस्न नसक्ने बताए।
शुल्क विवादसंगै कतिपय स्कूलहरुमा तोडफोड गरिएको थियो।
यसबाट विद्यार्थीहरुको पढाइमात्र होइन मनमस्तिष्कमा समेत गंभीर असर परेको भनी कतिपयले चिन्ता व्यक्त गरेका छन्।



