शुल्क विवादमा देशभरका हजारौं निजी विद्यालय खुलाउने औपचारिक पहल हुन सकेन

शुल्क विवादमा आइतबारदेखि बन्द रहेका देशभरका हजारौं निजी विद्यालय खुलाउने औपचारिक पहल सोमबार पनि हुन सकेन।

समस्या सुल्झाउन निजी विद्यालय सञ्चालकहरुले सरकारी पहलको अपेक्षा राखेका छन्।

तर सरकारले आफुहरु निजी विद्यालय हडतालमा असम्बद्ध रहेको भन्दै सम्बद्ध दुई पक्ष तयार भए मध्यस्थकर्ताको भूमिका खेल्न तयार रहेको बताएको छ।

अहिले आन्दोलनमा रहेको प्रमुख विपक्षी माओवादीको भ्रातृ संगठन अखिल क्रान्तिकारीले निजी विद्यालयहरुले आफुखुशी शुल्क असुलेको भन्दै आइतबार देखि निजी विद्यालय बन्द गराएका छन्।

मध्यस्थकर्ता

शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले विद्यालय हडतालका दुई पक्ष वार्ताका लागि तयार रहे आफुहरु मध्यस्थकर्ता बन्न तयार रहेको बताएका छन्।

मन्त्री शुक्लले अहिलेको हडतालमा सरकार पक्षधर नरहेको जनाए।

तर विद्यालय हडताल शुल्क विवाद भन्दा अरु नै कामका लागि गरिएको हुनसक्ने आशंका उल्लेख गर्दै मन्त्री शुक्लले भने, “अठार गतेदेखि हुने कार्यक्रममा बाहिरबाट ल्याइएका कार्यकर्ता राख्न स्कूल खाली गराइएको हो कि भन्ने आशंका निजी विद्यालय सन्चालकहरु र अरुहरुको पनि छ।”

सर्वपक्षीय वार्ता

निजी विद्यालय सञ्चालकहरुले सोमबार शिक्षामन्त्रीलाई भेटेर समस्या समाधानका लागि सर्वपक्षीय वार्ता गराउन आग्रह गरेका थिए।

निजी विद्यालय सञ्चालकहरुको एउटा संगठन प्याब्सनका अध्यक्ष राजेश खडकाले आफुहरु सरकारी पहलको प्रतीक्षामा रहेको बताए।

खडकाले मंगलबारसम्म शिक्षा मन्त्रालयबाट पहल हुने अपेक्षा व्यक्त गरे।

बन्दले देशभरका करीब नौ हजार निजी विद्यालयमा पढ्ने पन्ध्रलाख जति विद्यार्थी प्रभावित भएका छन्।