गरिबी, आतंकवाद, जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गर्दै सार्क सम्मेलन शुरु

गरिबी र आतंकवादको चुनौतीका साथै जलवायु परिवर्तनको असरबारे ध्यानाकर्षण गर्दै भुटानको राजधानी थिम्पुमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १६औं शिखर सम्मेलन शुरु भएको छ।

ग्र्याण्ड एसेम्बली हलमा स्थानीय समय अनुसार दिउंसो दुइबजे सार्कका वर्तमान अध्यक्ष श्रीलंकाली राष्ट्रपति महिन्द राजापक्षले सम्मेलनको उदघाटन गरेका थिए।

त्यसपछि राजापक्षले सार्कको अध्यक्षता भुटानलाई हस्तान्तरण गरेका थिए।

पहिलो

सदस्य राष्ट्रहरुले पालैपालो शिखर सम्मेलन गर्ने परम्परा रहेपनि सार्कको २५ वर्षे इतिहासमा भुटानले पहिलोपटक शिखर सम्मेलन आयोजना गरेको हो।

प्रधानमन्त्री माधवकुमार नेपालले पनि गरिबी निवारणलाई जलवायु परिवर्तनसँग जोडेका थिए।

हराभरा र सुखी दक्षिण एसिया क्षेत्रका अगाडि जलवायु परिवर्तनको खतरालाई थिम्पु सम्मेलनले स्वीकारेको उल्लेख गर्दै उनले भने, “असाध्यै संवेदनशील हिमाली मुलुक नेपाल जलवायु परिवर्तनले गर्ने असरको गम्भीर खतरामा छ।”

नेपाल लगायत आठ सदस्य राष्ट्रका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखले भाग लिइरहेको सम्मेलनको मूल लक्ष्य क्षेत्रीय साझा मुद्दा भए पनि ‌द्विपक्षीय वार्ता र छलफल चासोको केन्द्रमा देखिएको छ।

सम्मेलनको समाचार संकलन गर्न थिम्पु पुगेका बीबीसीका संवाददाता शरद केसीका अनुसार भारतीय प्रधानमन्त्री डा मनमोहन सिंह बुधबार थिम्पु पुगेपछि त्यहाँ हुने द्विपक्षीय मन्त्रणाप्रति धेरैको चासो बढेको छ।

भारत बाहेकका सात देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच द्विपक्षीय परामर्श बाक्लै भइरहेको छ।

खासगरी वैरीको नाता सम्बन्ध जस्तै रहेका भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच हुने भनिएको वार्तालाई यहाँ आएका धेरै पत्रकारहरुले चासोका साथ हेरिरहेका छन्।

उनीहरुबीचको सम्बन्धले दक्षिण एसियामात्र नभई विश्वकै शक्तिशाली राष्ट्रहरुबीचको सन्तुलनलाई प्रभावित गर्ने भएकाले वार्ताप्रति त्यतिविधि चासो देखिएको हो।

नेपालका प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री सिंहबीच बिहीबार भेटवार्ता तय भएको छ।

नेपालमा सरकारको दिनगन्ति शुरु भएको चर्चा चुलिँदै गएका बेला उक्त भेटवार्ताको परिणामले नेपालको राजनीतिलाई प्रभावित गर्न सक्ने अनुमान गरिएको छ।

क्रियाशील

वार्तामा नेपालले राख्ने विषयबारे जिज्ञासामा प्रधानमन्त्री नेपालले आपसी हितको विषयमा कुरा हुने मात्र बताए।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले भारतीय विदेशमन्त्रीले आफूसँगको कुराकानीमा वर्तमान सरकारलाई भारतको पूर्ण समर्थन रहेको बताएकी छन्।

नेपालको आन्तरिक राजनीतिमा भारतीय चासोप्रति कतिपयको भनाइमा सुक्ष्म निगरानी गरिरहेको चीनका अधिकारीहरु पनि पर्यवेक्षकको रुपमा यहाँ क्रियाशिल देखिएका छन्।