गृहमन्त्री र रक्षामन्त्री समेत उपस्थित बिहीबारको बैठकमा आसन्न माओवादी प्रदर्शन हिंसात्मक भए त्यसको जवाफ दिन सरकारलाई भनिएको सहभागीहरुले बताएका छन्।
सत्ताधारी एक प्रमुख घटक नेपाली कांग्रेसको सक्रियतामा उसकै संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी आन्दोलनको लक्ष्यप्रति सहभागी दलहरुले आपत्ती जनाएको बताइएको छ।
‘नियम संगत’
राष्ट्रिय सरकार बनाउन भनेर आउँदो शनिबार राजधानीमा शक्ति प्रदर्शन र त्यसपछि अनिश्चितकालीन आम हडताल गर्ने भनेको माओवादीले नियम संगत रुपमा सरकार परिवर्तन गर्नुपर्नेमा सहभागी दलहरु एकमत रहेको कांग्रेस प्रवक्ता अर्जुननर्सिंह के सीले बताए।
बैठकमा सहभागी नेकपा संयुक्तका चन्द्रदेव जोशीका अनुसार छलफलमा अन्य दलले पनि जनताको सुरक्षा गर्न सरकार सजग रहनुपर्ने धारणा राखेका थिए।
जोशीले भने, “जनधनको क्षति हुन लाग्यो भने सरकारले त जोगाउनु पर्यो नि।”
सरकार परिवर्तन संविधानसभामा बहुमत पुर्याएर या सहमतिमा हुनुपर्ने सत्ताधारी दलहरुले बताउँदै आएका छन्।
माओवादीले भने आफुहरु संविधान सभाको सबैभन्दा ठूलो दल रहेको र वर्तमान सरकारले सहमति खोज्न असफल भएकाले तत्काल सरकारबाट हटेर माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन बाटो खुला गरिदिनुपर्ने भन्दै आएको छ।



