प्रधानमन्त्री माधबकुमार नेपालले माओवादी आन्दोलन हिंसात्मक हुने लक्षण रहेको बताउँदै स्थिति चर्किएमा के हुने आफूले भन्न नसक्ने बताएका छन्।
दिउँसो तीन दलका शीर्ष नेताहरुबीच बसेको बैठकले कुरा मिलाउन नसकेपछि उनीहरुको बैठक राती पुन: बसेको थियो।
दिउँसोको तीन दलीय बैठकको परिणामबाट खासै उत्साहित नदेखिएका माओवादी उपाध्यक्ष डा बाबुराम भट्टराईले अपरान्ह सञ्चार माध्यमका प्रतिनिधिहरुसंग कुराकानी गरेका थिए।
त्यहाँ उनले प्याकेजमा सहमति नभएसम्म आन्दोलन फिर्ता नलिने जनाए।
“प्रधानमन्त्रीको राजीनामा मात्र समस्याको समाधान होइन। शान्ति र संविधान सुनिश्चित गर्दै राष्ट्रिय संयुक्त सरकार निर्माण गर्ने कुरापनि एकमुष्ट हल गरिनुपर्छ,” उनले भने।
‘औचित्यहीन’
शुक्रबार बिहान भुटानको थिम्पुबाट काठमाण्डू आएका प्रधानमन्त्री नेपालले पत्रकारहरुसंगै कुरा गर्ने क्रममा आफ्नो राजीनामालाई घुमाउरो भाषामा औचित्यहीन भएको बताएका थिए।
उनले माओवादी आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै त्यसको सामना गर्नु बाहेक विकल्प नभएको जनाए।
“मेरो राजीनामाले समस्याको समाधान देला भन्ने किमार्थ लाग्दैन,” उनको भनाइ थियो।
तर शुक्रबार नै एक पत्रकार सम्मेलनमा बोल्दै माओवादी नेता भट्टराईले सडक आन्दोलन पूर्ण रूपमा शान्तिपूर्वक गरिने जनाए।
“हाम्रो जनप्रदर्शन शान्तिपूर्वक हुने छ। माओवादी हातहतियार सहित भित्रिंदै छ र विद्रोह गर्दै छ भनेर गरिएको प्रचार गलत छ,” भट्टराईले भने।
चिन्ता
यसैबीच नेपालका लागि राष्ट्रसंघीय नियोग अन्मिनले माओवादीको आन्दोलनले उब्जाउने परिस्थितिले शान्ति प्रक्रिया गम्भीर खतरामा पु-याउन सक्ने चिन्ता जनाएको छ।
अन्मिन प्रमुख करिन लन्ग्रेनले दलहरुले शान्तिपूर्ण अभिप्राय व्यक्त गरेतापनि शान्ति प्रक्रिया विरोधी तत्वहरुको उक्साहटबाट मुठभेड निम्तिन सक्छ कि भन्ने कुराप्रति आफू चिन्तित भएको जनाइन्।
शुक्रबार दिनभर जसो नै प्रमुख दलहरु आन्तरीक छलफलमा व्यस्त रहेका थिए।
नेपाली कांग्रेसले अप्रजातान्त्रिक तरिकाबाट सरकार परिवर्तन गर्न नहुने निश्कर्ष निकालेको छ भने एमालेले माओवादीलाई सहमति मार्फत अघि बढ्न आग्रह गरेको छ।



