सडकबाटै सरकार ढाल्ने प्रयासमा लागेको एकीकृत नेकपा माओवादी र सत्ताधारी नेपाली कांग्रेस तथा नेकपा एमाले राजनीतिक सहमति जुटाउन फेरि वार्तामा बसेका हुन्।
आइतबार साँझ भएको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल सहभागी थिए।
वार्ताले कुनै सहमति जुटाउन सकेन।
तर उनीहरुले वार्ता जारी राख्ने सहमति गरेका छन्।
वार्तामा तीनदलीय कार्यदलका सदस्यहरु समेत सहभागी थिए।
वार्तापछि एमाले अध्यक्ष झलनाथ खनालले भने, “कार्यदलले दिएको रिपोर्ट सुन्यौं। हामी सकारात्मक दिशामा छौँ।”
उनले सकेसम्म सोमबार फेरि वार्तामा बस्ने बताए।
त्यसअघि तीनै पार्टीले एकअर्कासँगै द्विपक्षीय वार्ता पनि गर्ने नेताहरुले जनाएका छन्।
आन्दोलन
प्रचण्डले सम्वादसँगै आन्दोलन जारी रहने बताए।
नेताहरुका अनुसार नयाँ संविधान, शान्ति प्रकृया र शक्ति बाँडफाँड लगायतका विषयमा छलफल भइरहेको छ।
सहमतिको निम्ति शनिबारको प्रयास विफल भएपछि तीन दलीय वार्ता अन्यौलमा परेको थियो।
माओवादी आफ्नो अनिश्चितकालीन आमहड्ताल प्रधानमन्त्रीले राजिनामा नदिँदासम्म फिर्ता नलिने अडानमा छ।
सत्ताधारी दलहरु सहमति वा संसदीय प्रकृयाभन्दा बाहिर गएर सरकार परिवर्तन हुन नसक्ने अडान लिइरहेका छन्।
राजनीतिक तनाव बढ्दै गइरहेका बेला प्रधानमन्त्री माधबकुमार नेपालले आइतबार साँझ राष्ट्रपति डा रामवरण यादवसँग भेट गरेका छन्।



