सरकारले तोकेको निषेधित क्षेत्रलाई नतोडिकनै माओवादी कार्यकर्ताहरुले नारा, जुलुस गरेका थिए।
निषेधित क्षेत्र कायम गर्न सयौं सुरक्षाकर्मीहरु तैनाथ थिए।
राजधानी बाहिर एकाध ठाउँमा भएका झडप बाहेक हिंसाका घटना नभएको अधिकारीहरुको भनाइ छ।
अनिश्चितकालीन हडताल
प्रधानमन्त्री माधबकुमार नेपाल नेतृत्वको सरकार विघटन नभएसम्म आम हडताल जारी राख्ने आन्दोलनकारीहरुले बताएका छन्।
पश्चिम नेपालको बाग्लुङबाट आन्दोलनमा भाग लिन काठमाण्डौं आएका भक्तबहादुर बीकले भने, “जनताको संविधान बनाउन अहिलेको कठपुतली सरकारलाई हटाउनु पर्छ। त्यसको निम्ति दबाब दिन हामी आएका हौं। माग पुरा नभएसम्म आन्दोलन रोकिन्न।”
आन्दोलनकै क्रममा कतै नाचगान गरिएको थियो भने कतै सडकमै खानेकुरा पकाएको दृश्य देखिन्थ्यो।
“हामीलाई चिउरा, तरकारी र दाल दिइएको छ,” पुल्चोकको प्रदर्शनमा भेटिएका बलराम परियारले बताए।
पीडा
माओवादीको प्रदर्शनले राजधानी लगायत देशका विभिन्न शहरहरुको दैनिक जनजीवन भने ठप्प भए।
काठमाण्डौंमा बजारहरु बन्द रहे भने सार्वजनिक यातायात चलेनन्।
हडतालको कारण पैदल हिंड्न वाध्य मानिसहरुले आन्दोलनको सट्टा वार्ताबाट सहमति हुनुपर्ने बताए।
“यो हप हप गर्मीमा हिंड्नु परेको छ। धेरै कठिनाइ भएको छ। बन्दले कुनै समाधान दिंदैन भन्ने कुरा सबैले बुझुनुपर्छ,” काठमाण्डौं सिंहदरबार अगाडि भेटिएका एकजना बटुवाको भनाइ थियो।
आम हडतालकै कारण केही दिन अगाडि देखि देशभर शुरु भएको बाह्र कक्षाको परीक्षा प्रभावित भएको थियो।
मध्ये नेपालको चितवनमा परीक्षा केन्द्रमा माओवादी समर्थकहरुले अवरोध गरेपछि प्रहरीसंग केहीबेर झडप भएको थियो।
धेरै ठाउँमा अवरोध भएपछि शिक्षा अधिकारीहरुले परीक्षा स्थगित गरेका छन्।



