माओवादी आमहड्तालको दोस्रो दिन, बुटवलमा वाणिज्य बैंक तोडफोड

काठमाडौ, वैशाख २० – बुटबलबाट अमृता अनमोलका अनुसार आम हडतालमा उत्रेका  माओवादीका कार्यकर्ताहरुले बुटवलको राष्ट्रिय वाणिज्य बैंक  तोडफोड गरेका छन् ।

बन्दको समयमा पनि बैंक खोलेको भन्दै बन्द गराउन गएको एक समूहले बुटवलको पुष्पलाल पार्कमा रहेको वाणिज्य बैंकमा मध्यान्ह  तोडफोड गरेका हुन् । तोडफोडबाट  बैंकका फर्निचर र शिशा फुटेका छन् । यसैगरी इलाका प्रशाशन कार्यालय बन्द गराउन पुगेका माओवादी कार्यकर्ताहरुलाई सुरक्षाकर्मीले रोक्न खोज्दा बुटवलमा केहीबेर तनाव सिर्जना भएको थियो ।

 तनाव अहिले सामान्य बन्दै गएको छ । बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै यतिबेला माओवादी कार्यकर्ताहरु बुटवलका सरकारी कार्यालय बन्द गराउदै हिडेका छन् । स्थितिलाई नियन्त्रणमा लिन सरकारी कार्यालय वरपर सुरक्षाकर्मीहरुको उपस्थिति बाक्लो छ ।

यसैबीच आमहड्तालमा क्रममा मोटरसाईकल जलाएको आरोपमा प्रहरीले रुपन्देहीको खैरेनीबाट एघार माओवादी कार्यकर्ताहरुलाई फक्राउ गरेको छ । गएराति रुपन्देहीको खैरेनीमा दुई वटा मोटरसाईकल जलाएको घटनामा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर कार्कीले बताए । चितवनबाट रुपन्देहीको सुनौलीतर्फ आउदैगरेका ना १४ प १६४४ र बा १४ प ५३२६ नम्बरका मोटरसाइकल माओवादी कार्यकर्ताले जलाएका थिए । पक्राउ परेकाहरुमाथि छानबीन भइरहेको प्रहरीले बताएको छ ।

धनकुटास्थित संवाददाताका अनुसार धनकुटा बजार तनावकोस्थितिमा छ । बिहानैदेखि एमालको युथ फोर्स र माओवादीको वाइसीएलले छुट्टछुट्टै प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको हो ।

अहिले युथ फोर्स र वाइसिएल दुवै पक्षले आ-आफ्ना मान्छेहरुलाई गाउँहरुबाट झिकाएका छन् । मदन चोक क्षेत्र युथफोर्स र भीमनारायणचोक क्षेत्र वाइसीएलले कब्जामा लिएर बसेको छ । दुवै पक्षका युवाहरुको हातहातमा फलामको रड र लाठी  छ ।

जुनसुकै पनि बेला भीडन्त हुन सक्ने डरले बजारबासी त्रस्त छन् । ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको तैनाथ गरिएकेा छ ।

माओवादीको अनिश्चितकालीन आमहडतालको दोस्रो दिन सोमबार पनि मुलुक ठप्प बनेको छ । राजधानी काठमाडौं लगायत मुलुकभर यातायात,कलकारखाना,बजार,शैक्षिक संस्थाहरु बन्द रहेका छन् । बन्दका कारण दैनिक उपभोग्य सामग्री किन्न नसक्दा र आवत जावत गर्न नपाउँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ ।

आमहडताल सफल बनाउन बिहानैदेखि माओवादी कार्यकर्ता सडकमा छन् । राजधानीको विभिन्न भागमा माओवादी कार्यकर्ताहरु सडकमा बसेर बाटो अवरोध गरेका छन् भने कतै नाचगान गरेर रमाइरहेका छन् । जरुरी कामले तथा कार्यालय जानुपर्नेहरु पैदल हिडेर गन्तव्य तर्फ गइरहेका छन् । कलंकी,बानेश्वर,चावहिल,कोटेश्वर लगायत दर्जनौ स्थानमा माओवादी कार्यकर्ता बसेका छन् । आमहडताल शान्तिपूर्ण रहेको छ ।

तीन दलका शीर्ष नेताबीच आइतबार राति भएको वार्ताले पनि सकारात्मक निष्कर्ष ननिकालेपछि माओवादीले आमहडताल जारी रहने जनाएको छ । आफ्नो नेतृत्वमा सर्वदलीय सरकार निर्माण हुनुपर्ने र त्यसका लागि प्रधानमन्त्री माधवकुमार नेपाललले राजीनामा दिनुपर्ने माओवादीले माग राखेको छ । मजदुर दिवस मे १ का दिन वृहत प्रदर्शन गरेको माओवादी त्यसको भोलि पल्टबाट आमहडतालमा गएको हो । रोल्पा संवाददाताका अनुसार त्यहाँ पूरै प्रभाव परेको छ । बजार, विद्यालय, यातायातका साधान पूर्ण रुपमा बन्द भएको छ । आइतबार पनि कार्यालय, बजार, यातायातका साधानहरु पूर्ण रुपमा बन्द भएका थिए । माओवादी कार्यकर्ताले कार्यालय, बजार र विद्यालय बन्द गर्न आग्रह गर्दै हिडेका छन् । बन्दका कारण गाउबाट आएका सेवाग्राहीहरु मर्कामा परेका छन् । गाउका विद्यालयका शिक्षकहरुलाई दाङमा भइरहेको आन्दोलनमा सहभागी बनाउन लगिएकाले विद्यालयहरु बन्द भएका हुन् ।

नवलपरासीमा सोमबार विहानैदेखि माओवादीले राजमार्गमा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।  उनिहरुले बेल्डिहा , हर्कपुर र कावासोतीमा राजमार्गको बीचमा टन्टलापुर घाममा पन्चै बजा बजाएर नाचगान गरेका छन् । सयौ युवा , युवतीहरु  राजमार्गमा नाचगान गर्दै दोहोरी गाएर समय कटाइरहेका छन् ।   उता सदरमुकाम परासीमा दिउसो माओवादीले सिट्टी जुलुश निकालेका छन् । करिब ५ सय कार्यकर्ताहरु सिट्टी बजाउदै राजमार्गमा दौडिएको स्थानीय दिपक भट्टराईले टेलिफोनमा जानकारी दिए ।

 माओवादी कार्यकर्ताले कावासोतीमा रहेका एक दर्जन सरकारी कार्यालय बिहानैदेखि खुल्न दिएका छैनन् । ईलाका प्रशासन, मालपोत , नापी , बिद्युत , टेलिकम , महिला बिकास कार्यालय र आधादर्जन भन्दा बढि बैंकहरु बन्द गराएका छन् । उनिहरुले सुरक्षाकर्मी र पत्रकारका सवारी साधन भने निर्वाधरुपमा संचालन हुन दिएका छन् ।

पर्सामा आम हडतालको दोश्रो दिन पनि प्रभाव परेको छ ।  बन्दकर्ताले विहानैदेखि हातमा लट्ठी लिएर सडक अवरोध गरेपछि वीरगन्जबाट चल्ने लामा तथा छोटा दूरीका सवारी साधन चल्न सकेका छैनन् ।

बन्दका कारण यस क्षेत्रका कलकारखाना तथा शैक्षिक सस्था समेत ठप्प रहेका छन् । वीरगन्जमा रिक्सा , टाँगा सामान्य रुपमा  चलेका छन् भने आइतबारको तुलनामा सोमबार मोटरसाईल बढी चलेका छन् ।

कास्कीबाट शिव शर्माका अनुसार आमहडतालका क्रममा सडकमा प्रर्दशन गर्दै हिडेका माओवादी कार्यकर्ताले पोखराको न्यूरोड स्थित एक पसलमा तोडफोड गरेका छन् ।

 जुलुस सहित हिडेका माओवादी कार्याकर्ताले सापकोटा किराना पसलको सामान राखिएको र्‍याकका सिसाहरु पसल भित्र पसेर फोडेका हुन् । 

  सर्टर किन खोलेको भन्दै भित्र पसेर प्रदर्शनकारीहरुले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

उदयपुर संवाददाताका अनुसार त्यहाँको जनजीवन बिहानैबाट प्रभावित भएको छ । सदरमुकाम गाईघाट र आसपासका बजार क्षेत्र  बन्द छन् । हड्तालका कारण यातायात साधन संचालन भएका छैनन ।  आन्दोलन परिचालक कमिटीका संयोजक एवंम् संबिधानसभाका सभासद् मोहन खत्रीको नेतृत्वमा बिहानैदेखि माओवादी कार्यकर्ता सडकम निस्किएका छन । बन्दले उद्योग, कलकारखाना, बजार, पसल , बिद्यालय क्याम्पस खुलेका छैनन ।

इनरुवा संवाददाताका अनुसार  जिल्लाको पश्चिमी र दक्षिणी क्षेत्रमा कम प्रभाव परेको छ । सदरमुकाम इनरुवामा पनि मुख्य वजारका पसलहरु आशिंक रुपमा खुलेका छन् । भने जिल्लाको ग्रामिण वजारहरु भान्टावारी , लौकही , हरिनगरा र मधुवन लगायतका वजार बिहानैदेखी खुलेका छन् । माओवादी कार्यकर्ताहरु इटहरी र खनार तर्फ केन्दि्रत भएपछि सदरमुकाम इनरुवामा उनीहरुको उपस्थिती न्युन देखिएको छ । यातायातका साधनहरु सञ्चालन नभएपनि मोटरसाइकल रिक्सा भने सञ्चालनमा रहेको छ । माओवादी सुनसरीका सेक्रेटरी निर्मल वराल कौशलले आफूहरु इटहरी तर्फ केन्दि्रत भएकाले इनरुवामा ग्रामीण क्षेत्रवाट आउने कार्यकर्ता जुटेपछि वजार पूर्ण रुपले बन्द गराउने बताए ।

पाल्पा संवाददातका अनुसार बन्दको प्रभाव पाल्पामा पूर्ण रुपमा परेको छ । बन्दले जनजीवनलाई पूर्ण रुपमा प्रभावित बनाएको छ ।  सिद्धार्थ लोकमार्ग र तानसेन तम्घास सडकमा सवारी साधन सोमवार विहानै देखि संचालन भएका छैनन् । तानसेन र ग्रामिण भेगमा समेत सवारी साधन ठप्प छन् । बन्दको पहिलो दिन केहि भागमा विद्यालय संचालन भएपछि दोश्रो दिनबाट सबै बन्द हुने माओवादीले जनाएको छ । माओवादी कार्यकर्ताहरु बिहानैदेखि बन्द सफल पार्न आग्रह गर्दै हिडेका छन् ।     माओवादी जिल्ला सचिव नेत्र पाण्डेले सरकारी, संस्थान कार्यालय पनि संचालन गर्न नदिइने बताए ।

सुनसरी संवाददाताका अनुसार लाठी बोकेर हिडेका रातो पोशाकधारी माओवादी कार्यकर्ताले अत्यावश्यक साधनसमेतलाई रोकेर चेकजाँच थालेका छन् । पूर्वपश्चिम र कोसी राजमार्ग खण्डमा उनीहरुले अत्यावश्यक साधनको दुरुपयोग बढेको भन्दै चेकजाँच थालेका हुन । आमहड्तालले प्रमुख आर्थिक क्षेत्र सुनसरी करिडोर क्षेत्र ठप्प छ । भारतबाट कामका लागि आएका ५ हजारभन्दा बढी भारतीय मजदुर आमहड्ताल अनिश्चित भएपछि पैदल जोगवनी नाका हुँदै घर फर्केका छन् । पूर्वपश्चिम र कोसी राजमार्ग खण्डमा बाक्लो सुरक्षा तैनाथी छ । वाइसीएललगायत विभिन्न भातृ संस्थाका लाल पोशाकधारी कार्यकर्ता पंक्तिवद्ध भएर राजमार्गमा प्रदर्शन थालेकाछन् । भारतको बिहार र पश्चिम बंगालबाट कच्चा पदार्थ लिएर आएका दर्जनौ मालवाहक कण्टेनर र ट्रक पूर्वपश्चिम र कोसी राजमार्ग खण्डमा अलपत्र परेपछि सुरक्षा प्रवन्धसहित घर जान प्रहरीलाई गुहारेका छन् ।

नारायणगढ संवाददाताका अनुसार हि&#