माओवादी हडतालले दुई दिनमा साढे चार अर्ब रुपियाँको नोक्सान

उद्योगी व्यवसायीहरुका अनुसार एक दिन बन्द हुँदा देशले कुल सवा दुई अर्ब रुपियाँको नोक्सान बेहोर्नुपर्छ।

त्यस हिसाबमा आइतबारदेखि शुरु भएको आम हडतालका कारण साढे चार अर्ब रुपियाँको नोक्सान भइसकेको छ।

यत्तिका धेरै घाटा हुनु पछाडि बन्दले पार्ने चौतर्फी प्रभाव रहेको उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीले बताए।

“हाम्रो कुल कार्य दिन, उत्पादकत्व, राजस्व, कुल गार्हस्थ उत्पादन, निर्यात आदिको हिसाब गरेर यो नोक्सानीको रकम निकालिएको हो,” जोशीले भने।

पर्यटक अलपत्र

देशले व्यापार घाटा र भुक्तानी सन्तुलनमा अर्बौं रुपियाँको नोक्सानी बेहोरिरहेका बेला पनि आशलाग्दो रुपमा बढ्न थालेको पर्यटनको त झन बन्द हडतालले ढाडै भाँचिने व्यवसायीहरु बताउंछन्।

हडतालले सैयौं विदेशी पर्यटकहरु काठमाण्डौं बाहिर विभिन्न शहर तथा ट्रेकिंग इलाकाहरुमा फँसेकोमा उनीहरु चिन्तित छन्।

नेपाल टुर अपरेटर्स संघका अध्यक्ष बसन्त मिश्रका अनुसार चितवनमा मात्रै त्यसरी अड्किएका पर्यटकहरुको संख्या तीन सय छ।

“विभिन्न ठाउँमा ट्रेकिंगमा गएकाहरुको यकीन संख्या अझै थाहा भइसकेको छैन,” उनले बताए।

मिश्रका अनुसार ती अड्किएका पर्यटकहरुको उद्वार गर्न माओवादीसंग समन्वय थालिएको छ।

“माओवादीका इलाका कमाण्डरहरुसंग सम्पर्क गरेका छौं। नेपाल पर्यटन बोर्डले पनि समस्या समाधान गर्न एउटा ईकाई नै गठन गरेको छ। हामीलाई सूचना आएमा जसरीपनि उद्वार गर्न तयार छौं,” उनले बताए।

चारैतिर घाटै घाटा भएको बेला समेत तीव्र गतिमा बढेको सरकारी राजस्व पनि बन्दको शिकार बनेको छ।

भन्सार नाकाहरु पुरै ठप्प रहेकोले दैनिक दशौं करोड रुपियाँको नोक्सान भइरहेको अर्थ मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

मन्त्रालयका राजस्व सचिव कृष्णहरि बाँस्कोटाका अनुसार सामान्यतया दिनमा पचास करोड रुपियाँको राजस्व उठ्ने गर्छ।