तीन प्रमुख दलका शीर्ष नेताहरुबीच भएको पछिल्लो बैठक पनि विफल

राजनीतिक सहमति जुटाउन तीन प्रमुख दलका शीर्ष नेताहरुबीच भएको पछिल्लो बैठक पनि विफल भएको छ।

तर बैठकबाट निस्किदाँ एकिकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले तीनै पार्टीका नेताहरुले एकै स्वरमा सहमति जुटाइ छाड्ने बचनबद्धता जनाएका छन्।

एमालेका नेता प्रदीप ज्ञवालीले भने, “मतभिन्नता साँघुर्‍याउँदै ल्याएका छौँ। मुलुकलाई दुर्घट्नामा पर्न दिन्नौ हामीहरुले भन्ने कुरा आश्वस्त तुल्याउन चाहन्छौँ।”

आन्दोलन

वार्तामा एमाले-कांग्रेसले माओवादीलाई आमहड्ताल फिर्ता लिन आग्रह गरेका थिए।

त्यसो गर्न माओवादी तयार भएन।

तैपनि सहमतिको निम्ति प्रतिबद्ध रहेकोमा स्वर मिलाउँदै माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “संकटबाट निकास दिनु पर्नेमा सहमति भएको छ। सहमति नहुँदासम्म आन्दोलन पनि जारी रहन्छ।”

माओवादीले तत्काल प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिनु पर्ने माग राखेको थियो।

तर सत्तापक्षले सरकार परिवर्तनको बाटो संसद वा राजनीतिक सहमतिको वैधानिक प्रकृयाबाट मात्र हुनसक्ने पुरानो दृढता दर्शाएको थियो।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने, “ती दुईटै कुरालाई पन्छाएर राजिनामा मात्र समाधान हो भन्ने दृष्टीकोणले कुनै समाधान निस्किन्न।”

प्रधानमन्त्री व्यस्त

आफ्नो राजिनामा मागि रहेको दलसँग सत्ताधारीहरुले वार्ता गरिरहेका बेला प्रधानमन्त्री नेपाल सरकारी निवासमा अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिहरुसँगको छलफलमा व्यस्त थिए।

प्रधानमन्त्रीले माओवादीको आन्दोलनपछि उत्पन्न परिस्थितिबारे नेपालस्थित विदेशी राजदूतहरुलाई अवगत गराएको उनको सचिवालयले जनाएको छ।

उनले संसद वा राजनीतिक सहमतिबाट हुने सरकार परिवर्तनको निर्णय मान्न आफू सदैव तयार रहेको कुरा दोहर्‍याएका थिए।