तर सरकारले आफ्ना मागहरु पुरा नगरे जेठ १४ अगावै आमहडताल पुन: हुन सक्ने माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
उनका अनुसार शनिवार माओवादीले देशभर सभा गर्नेछ।
माओवादीको उक्त निर्णय काठमाण्डू लगायत देशभर दशौं हजार मानिसको सहभागितामा भएका शान्ति सभापछि आएको हो।
शान्तिसभा
माओवादीले मे दिवसको अवसरमा दशौं हजारको सहभागितामा आयोजना गरेको प्रदर्शनको एक साता पछाडि आज काठमाण्डूमा शान्तिको कामना गर्दै ठूलो संख्यामा मानिसहरु भेला भएका थिए।
माओवादीको सरकार विरोधी अलोकप्रिय आन्दोलनका क्रममा केही दिनयता दिनदिनै सरकार विरोधी नाराहरु घन्किरहेको काठमाण्डू शहरमा शुक्रवार बिहानैदेखि शान्ति र संविधानको पक्षमा गगनभेदी नाराहरु लगाइएका थिए।
आग्रह
शान्तिसभा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा पेशागत संघसंस्थाहरुले संयुक्त रुपमा आयोजना गरेका थिए।
सभामा बोल्ने विभिन्न वक्ताहरुले आन्दोलनकारी माओवादी तथा सरकारलाई सहमति गरेर समस्या समाधान गर्न आग्रह गरे।
“अबको दुई दिनभित्रपनि दलका नेताहरुले सहमति गरेर शान्ति कायम नगरे नेपाली जनताको धैर्यको बाँध टुट्नेछ,” हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले भने।
शहरमा अन्यत्र माओवादीका समर्थक कार्यकर्ताहरुले प्रदर्शन जारी राखेको बेला बसन्तपुर भेला हुन आइपुगेका सर्वसाधारणहरुले शुक्रवारको शान्ति सभाले मुठभेड तर्फ नलाग्न दुवै पक्षलाई सन्देश दिने आशा गरेका छन्।
“बन्द गरेर केही फाइदा छैन। शान्तिको निम्ति सहमति गरेरै अगाडि बढ्नुपर्छ,” सभामा सहभागी हुन आएकी एकजना महिला परमेश्वरी श्रेष्ठले बताइन्।
एकातर्फ माओवादी आन्दोलनकारी तथा अर्कोतर्फ प्रतिरोध गर्नेहरुबीच समेत मुठभेड हुन थालेपछि चिन्तित नागरिकहरुको अग्रसरतामा आयोजित शुक्रवारको शान्तिसभाले सहमतिको राजनीतितर्फ पाइला चाल्न दलहरु खासगरी माओवादीमाथि चर्को दबाब दिएको धेरैको धारणा छ।



