नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीको नेतृत्वमा अब कहिल्यै पनि सरकार नबन्ने ठोकुवा गर्नुभएको छ । प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीको राजिनामा माग गरेर सडक संघर्ष जारी राखेको बेला बर्तमान सत्ता समिकरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेता ओलीको यस्तो भनाइ आएको हो ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै ओलीले प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा नदिने बताउनुभयो । उहाँको दावी थियो- प्रधानमन्त्रीको राजिनामा धक्याएर, घुर्क्याएर र मागेर आउदैन, संसदमा बहुमत पुर्याएर मात्र पाइन्छ ।
साक्षात्कारमा बोल्दै ओलीले बर्तमान सरकार वैधानिक र पूर्ण बहुमतप्राप्त भएकाले माओवादीको अबैधानिक मागका अगाडि झुकेर राजिनामा दिने कुरै नआउने स्पष्ट पार्नुभयो । उहाँले प्रश्न गर्नु भयो-रत्नपार्कमा कराउदा प्रधानमन्त्रीले राजिनामा दिने हो भने ब्यवस्थापिका संसदले चाहिँ के गर्ने ? माओवादीले सहमति बने पनि सरकार बनाउन नसक्ने ओलीको भनाइ थियो ।
नेता ओलीले प्रचण्डलाई असफल भईसकेको पूर्व प्रधानमन्त्रीको संज्ञा दिदै सरकार परिवर्तनभन्दा संविधान निर्माण र शान्ति प्रक्रियालाई निश्कर्षमा लाग्न सुझाव दिनु भयो । अहिलेकै सरकारमा आएर राष्ट्रिय सरकारको रुप दिन आग्रह गर्दै ओलीले भन्नु भयो- धम्क्याएको भरमा माओवादी नेतृत्वको सरकार बन्छ भन्ने लागेको छ भने त्यो भ्रम हो । यसरी माओवादी नेतृत्वको सरकार बन्नै सक्दैन ।
उहाले नया सरकार गठन सम्बन्धमा कुनै भ्रम नरहेको सो कुरा संविधानमा स्पष्ट उल्लेख भएको दावी पनि गर्नु भयो ।
नयाँ संविधान निर्माण र शान्ति कायम गर्ने बेलामा असभ्य भाषाको प्रयोग गर्नु अनुपयुक्त भएको बताउदै उहाले असभ्यता छाडेर सभ्य हुन माओवादीलाई सुझाव दिनु भयो ।
उहाँले तथानाम अन्यदल र तीनका नेतालाई गाली गर्ने अनि सहमति सहकार्यको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गर्दै माओवादीलाई सहमति सहकार्यको भाषाका साथ अगाडि आउन आग्रह गर्नु भयो । माओवादी अध्यक्ष प्रचण्डले संविधान सभालाई विघटन गर्ने षडयन्त्रमा अन्य दलहरु लागेको भनी दिएको अभिब्यक्ति प्रति लक्षित गर्दै ओलीले भन्नु भयो- संविधानसभाको म्याद थप नगर्ने भनी माओवादीले औपचारिक निर्णय गर्ने अनि संविधान नबनाउने योजनामा अरुदल लागेका छन् भन्ने, संविधान नबनाउने योजनामा माओवादी आफै लागेको छ ।
जेठ १४ पछि धेरै विकल्प भएको र सहमति बन्न नसके राजनीति नयाँ कोर्समा अघि बढ्ने उहाँले बताउनुभयो । ‘जेठ १४ पछि पनि यही सरकार बन्छ । माओवादीसँग सार्थक र परिणाममुखी वार्ता गर्न तयार छौं, तर माओवादी जिम्मेवार भएर आउनु पर्यो । सरकार हदैसम्म लचिलो हुन तयार छ । लोकतन्त्र र संविधानभन्दा बाहिर गएर माओवादीसँग कुरा मिल्दैन,’ उहाँले भन्नुभयो । प्रचण्डको खुलामञ्चको भाषणलाई आलोचना गर्दै शान्ति सभामा निस्कने जनतालाई गालीगलौज गरेका आरोप लगाउँदै यस्तो काम छाड्न आग्रह गर्नुभयो ।



