१५ दलले माओवादी आन्दोलनका बाँकी कार्यक्रम स्थगित गर्न आग्रह

काठमाडौं – सरकार समर्थित १५ दलले माओवादी आन्दोलनका बाँकी कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले हड्ताल फिर्ताको स्वागत गर्दै राजनीतिक गतिरोध अन्त्यका लागि सहमति खोज्न आन्दोलनका बाँकी कार्यक्रम समेत फिर्ता लिन आग्रह गरेको हो।
१५ दलले माओवादीलाई सहमति र सहकार्यको बाटोमा आउन आग्रह गर्दै शान्ति र लोकतन्त्रको पक्षमा इमान्दार हुन आग्रह गरेका छन्।

बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ

२०६७ वैशाख २५
प्रेस विज्ञप्ति

प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा आज उहा"कै निवास बालुवाटारमा सरकारमा सहभागी तथा सरकारलाई समर्थन गर्ने दलहरुको बैठक बस्यो। बैठकमा नेपाली कांग्रेसका कार्यबाहक सभापति सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनाल, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा (माले) का महासचिव सीपी मैनाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणा, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका अध्यक्ष प्रेमबहादुर सिंह, चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्ष केशव मैनाली, नेपाल लोकतान्त्रिक समाजवादी दलका नेता लक्ष्मीलाल चौधरी र नेपाल परिवार दलका दीपकराज घिमिरे र दलित जनजाति पार्टीका उपाध्यक्ष विष्णुबहादुर विश्वकर्मा सहभागी हुनुुहुन्थ्यो। बैठकमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांगे्रस संसदीय दलका नेता रामचन्द्र पौडेल, पूर्व उपप्रधानमन्त्री केपी ओली र भरतमोहन अधिकारी, नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल, नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिलगायत मन्त्रीहरु र अन्य नेताहरु उपस्थित हुनुहुन्थ्यो।
बैठकमा एकीकृत नेकपा (माओवादी) द्वारा घोषणा गरिएको आमहड्ताल स्थगन पछिको परिस्थिति र अब कसरी अघि बढ्ने भन्ने विषयमा व्यापक छलफल भएको थियो। बैठकले छलफलपछि निम्न पा"च बु"दे प्रस्ताव पारित गरेको छ :

पारित प्रस्तावहरु

१. अनिश्चितकालीन आमहडताल स्थगित गर्ने एकीकृत नेकपा (माओवादी)को निर्णयलाई यो बैठक सकारात्मक रुपमा ग्रहण गर्दछ। आन्दोलनका बा"की कार्यक्रम पनि फिर्ता गरेर सहमतिको वातावरण निर्माण गर्न यो बैठक एकीकृत नेकपा (माओवादी)लाई आग्रह गर्दछ।

२. सम्वाद, सहमति र सहकार्यका माध्यमबाट नै शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन र संविधान लेखन कार्य पूरा गर्न सकिन्छ भन्नेमा पुनः जोड दि"दै यो बैठक शान्ति, लोकतन्त्र र संविधान लेखनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने कार्यमा इमानदारी र निष्ठाका साथ प्रस्तुत हुन एकीकृत नेकपा (माओवादी) लाई आग्रह गर्दछ।

३. उपत्यकालगायत देशभरिका जनताले शान्तिपूर्ण रुपमा आमहडतालको अवज्ञा गर्दै शान्ति र लोकतन्त्रका पक्षमा उन्नत स्तरको लोकतान्त्रिक र नागरिक चेतना प्रस्तुत गरेका छन्। सम्पूर्ण मजदुर, किसान, युवा, विद्यार्थी, उद्योगपति, व्यवसायी, प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, कलाकार, पत्रकारलगायत सबै तह र तप्काका नेपाली जनतालाई यो बैठक हार्दिक धन्यवाद ज्ञापन गर्दछ।

४. आमहडतालका क्रममा शान्ति-सुव्यवस्था कायम गर्न आफ्नो भूमिका निर्वाह गरेका सबै सुरक्षाकर्मी र राष्ट्रसेवकहरुलाई यो बैठक धन्यवाद दिन चाहन्छ।

५. शान्तिपूर्ण रुपमा आफूलाई लागेका विचारहरु व्यक्त गर्ने, विरोध प्रदर्शन गर्ने र चित्त नबुझेका कुराहरुप्रति लेखेर, बोलेर वा सडकमा उत्रेर विरोध जनाउने जनताको अधिकार हुन्छ। यस अधिकारलाई प्रयोग गर्दै शान्ति, लोकतन्त्र, संवैधानिकता र विधिको शासनको पक्षमा काठमाडौंको वसन्तपुरलगायत देशका विभिन्न भागमा आयोजित शान्तिसभामा सहभागी हुन गइरहेका सचेत र शान्तिपे्रमी जनतामाथि एनेकपा (माओवादी) का कार्यकर्ताहरुले गरेको आक्रमणप्रति यो बैठक दुःख प्रकट गर्दछ।

 

रघुजी पन्त
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार