माओवादीका नेतामाथि सम्पति कब्जा गर्ने धम्की दिएकाले प्रहरीले सार्बजानिक मुद्धा

भोजपुर – माओवादीका एक जना जिल्लास्तरीय नेतामाथि प्रहरीले सार्बजानिक मुद्धा चलाएको छ । माओवादी जिल्ला सदस्य एवं इलाका नं २ का इन्चार्ज पुष्प चौलागाई बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्धा चलाएको हो ।  

माओवादीद्वारा आयोजित आमहडतालको पूर्बसन्ध्यामा केउरेनीपानी गाबिस-९ स्थित नेकपा एमाले जिल्ला सदस्य खगेन्द्र बोगटीलाई पाँच लाख रुपैंयाँ चन्दा नदिए चलअचल सम्पति कब्जा गर्ने धम्की दिएकाले प्रहरीले मुद्धा चलाइएको हो । भोजपुर सदरमुकामदेखि ११ कोस उत्तर दिंलानजिकै बोगटीको घरमा गएर माओवादी कार्यकर्ताले लुटपाट गरेको एमाले जिल्ला कार्यालयले जनाएको छ ।

माओवादी नेता चौलागाईको नेतृत्वमा गएका ५०/६० जनाले बोगटीको ४० किलो चामल, घिउ, एउटा खसी, दुई वटा कुखुरा जवरजस्ती काटेर भोज आएका थिए । उनीहरुले कुखुराको अण्डा १५ दाना खाइदिएको पीडित बोगटीले बताए । माओवादी कार्यकर्ताले खसी दश हजार, कुखुरा दुई हजार, अण्डा एक सय ५० र दुई हजार रुपैंयाँ बराबरको चामल जवरजस्ती क्षती पुर्‍याएको बताउँदै जिल्ला प्रशासन कार्यालयमा पीडितले उजुरी दिएका छन् ।

माओवादी एरिया इन्चार्ज चौलागाई र अर्का जीवन गुरुङ जिल्ला प्रहरी कार्यालयमा हिरासतमा छन् । एमाले जिल्ला कार्य समितिले चौलागाई बिरुद्ध कानुनी कारबाही गर्न प्रशासनलाई दवाब दिदै आएको छ । उनको नेतृत्वमा ०६४ बैशाख १४ गते कुलुङमा एमाले नेता रामसिं राईमाथि सांघातिक आक्रामण गरी मरनासन्न कुटपीट गरी साथमा रहेको १८ हजार रुपैंयाँ नगद, दुई थान मोबाइल सेट र झोला लुटेर लगेका थिए । सोही घटनामा २५ दिन हिरासतमा बसेका थिए ।

सरकारले राजनीतिक मुद्धा फिर्ता लिएपछि छुटेका चौलागाईको कार्यशैलीबाट पटक पटक आलोचित छन् । उनीद्वारा घाइते राईले हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौको शिक्षण अस्पतालमा उपचारपछि पुनर्जीवन पाएका थिए ।

कुदाककाउले गाबिसका चौलागाई र मोरङ पथरीका गुरुङ बिरुद्ध प्रहरीले सार्बजानिक मुद्धा पेश गरेकोले छानवीन भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले बताए । एमाले कार्यकर्ता खगेन्द्र बोगटीसित चन्दा माग्ने पार्टीको नीति र निर्णय नभएको माओवादीका भोजपुर  जिल्ला इञ्चार्ज कृष्ण साङपाङले बताए । उनले गलत कार्य गरेको ठहरिएमा कारबाही हुने दावी गरे ।

आफ्ना कार्यकर्तामाथि चल अचल सम्पति कब्जा गर्ने र पाँच लाख रुपैंयाँ चन्दा नदिए जनकारबाहीको धम्की दिएकोमा एमालेले खेद प्रकट गरेको छ । घटनाप्रति आक्रोस व्याक्त गर्दै माओवादी नेतृत्वको दृष्टिकोण सार्वजानिक गर्न एमाले उपाध्यक्ष रामसिं राईले आग्रह गरेका छन् ।